उपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

| 2021 Jan 27 | 09:30 am 2537

हुम्ला, माघ १४ः जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन्। कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन्।

सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उनलाई हालसम्म कारागार स्थानान्तरण गरिएको छैन। उनले भने, ‘जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरासतमा बस्नुपरेको छ, औषधोपचारका लागि पनि आफैँले आर्थिक खर्च गर्नुपर्ने, खेल्ने, सरसफाइदेखि अन्य सेवा सुविधा उपभोग गर्नसमेत पाएको छैन।’

कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतका लागि बनाइएका दुई कोठामा सीमित भएर बस्नुपरेको उनले गुनासो गरे। उक्त क्षेत्रमा बसाइका हिसाबले सुधारगृह नभएर यातनागृह जस्तै महसुस भएको उनले गुनासो गरे। साँघुरो ठाउँमा बस्नुपरेकाले आपसमा सरूवा रोगको जोखिम भएको रोकायाले बताए। हालसम्म हिरासतमा विभिन्न मुद्दामा फैसला भएका छ कैदी र पाँच पुर्पक्षमा थुनुवा रहेका गरी ११ जना रहेका छन्।

कारागार प्रमुख डवले रावतले कारागार स्थानान्तरणका लागि माघ ११ गते केन्द्रीय विभागमा पत्राचार गरिएको बताए। ‘विभागबाट परिपत्र आउनेबित्तिकै हुम्लाको कारागारमा रहेका छ कैदीबन्दी जिल्ला बाहिर तुरुन्तै स्थानान्तरण हुने छन्।’ त्यस्तै कैदीबन्दीले आफ्नै खर्चमा औषधोपचार गरेको भए पनि कारागारले सो रकम एकलौटी चौमासिकरूपमा भुक्तानी गर्ने भएको जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.