काठमाडौं, असार १०: उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले रकम नदिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कसैलाई पनि एक पैसा नदिने बताए ।
नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ’, मन्त्री यादवले भने । “पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन तर विदेशमा उपचार गराउने जो कसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ” मन्त्री यादवले देशका ठुलै मान्छेदेखि सर्वसाधारणको हकमा पनि यो कुरा लागू हुने बताए । ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ’, उनले भने, सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस्।’