काठमाडाैं, भदौ २०: गत केही हप्तादेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि आज (शुक्रबार) स्वदेश फर्कने भएका छान् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कने जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको हाे ।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ गएका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्कने बताइएकाे छ । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।