उद्योगी तथा व्यावसायिक प्रतिष्ठानले अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा

रिपोर्ट नेपाल | 2021 May 10 | 09:59 am 3393

काठमाडाैं, बैशाख २७ः कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसँगै मुलुकभर देखिएको अक्सिजन सिलिन्डरको चर्काे अभावलाई ध्यानमा राख्दै उद्योगी तथा व्यावसायिक प्रतिष्ठानले आफूसँग भएका सिलिन्डर धमाधम सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन्। उपत्यकासहित देशभरका अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामी भर्ना गर्न आलटाल गरेपछि क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले आफ्नो निर्माण क्षेत्रमा प्रयोगमा रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन्।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संकट देखापरेका भन्दै व्यवसायी मातहत रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ। महासंघका महासचिव पुरुषोत्तम रेग्मीले देशभर अहिले ६ सय क्रसर व्यवसायीसँग ३५ सयभन्दा धेरै अक्सिजन सिलिन्डर रहेकाले नजिकको स्थानीय सरकार, प्रदेश वा अस्पतालसँग समन्वय गरेर वितरण गर्न अनुरोध गरेको बताए।

‘मुलुकले अहिले गम्भीर स्वास्थ्य संकट भोगिरहेको अवस्था छ। केही दिन क्रसर उद्योग बन्द गरेरै भए पनि मानवीय जीवन बचाउनुपर्ने अवस्था भएकाले सबै व्यवसायीलाई सिलिन्डरको रेकर्ड राखेर सरकारलाई बुझाउने काम भइरहेको छ।’ महासंघले क्रसर तथा खानी उद्योगले आ–आफ्नो उद्योगमा रहेका अक्सिजन ग्यासको रित्ता र भरी सिलिन्डरको रेकर्ड राखेर नजिकको स्थानीय तहमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

महासंघका अनुसार एउटा क्रसर उद्योगसँग कम्तीमा ४ देखि १० वटासम्म अक्सिजन सिलिन्डर छ। महासचिव रेग्मीले मुलुकले स्वास्थ्य संकट भोगिरहेको बेला व्यवसायीले केही हदसम्म भए पनि अक्सिजन उपलब्ध गराएर प्राण जोगाउनेतर्फ लाग्नुपर्ने बताए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले पनि निर्माणाधीन जलविद्युत् आयोजनाको मेटल वेल्डिङको लागि प्रयोग हुने अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत अस्पताल लगायत क्षेत्रमा उपलब्ध गराउन मातहतका व्यवसायीलाई सार्वजनिक अपिल गरिसकेको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.