काठमाडौं, मंसिर ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाएका हुन् ।
उद्योग दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले उद्योगीहरुलाई व्यापारी मानसिकता मात्रै बोकेर नहिँडन पनि सचेत गराए । उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारीक मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ हिडेको मन्त्री यादवको आरोप छ ।
मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढन पनि उद्योगीहरुलाई आग्रह गरे । मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गरे ।
उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तराष्ट्रिय लगानीको वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ । स्वदेशी बस्तु उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको यादवको भनाइ थियो ।