उदयपुर सिमेन्ट उद्योगले दियो, अहिलेसम्मकै बढी उत्पादन

रिपोर्ट नेपाल | 2018 Nov 20 | 12:21 pm 5972

गाईघाट, मंसिर ४ :  निरन्तर रुपमा उत्पादन दिँदै आएको उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन थालेको छ । सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग उदयपुरको जलजलेमा रहेको  यस उद्योगले हाल आएर दैनिक ७ सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए ।

२०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको भएपनि त्यसपछिका वर्षहरुमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६ सय ५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको थियो । अघिल्लो वर्षदेखि सिमेन्टको गियर मेशिन नयाँ परिवर्तन गरेपछि दैनिक ७ सय देखि ७ सय ५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक पौडेलले जानकारी दिए ।

यो वर्ष २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको र अहिले विद्युतसमेत पूर्ण आपूर्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको महाप्रबन्धक पौडेलले बताए । दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७ सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याङ्क राखेको महाप्रबन्धक पौडेलले जनाए ।

उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८ सय मेट्रिकटन पुर्याउने पनि उद्योग प्रशासनले बताएको छ । केही वर्षअघिसम्म वार्षिक १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष मात्र १५ करोड आम्दानी गरेको थियो । यो वर्ष अहिलेसम्म झण्डै ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.