उदयपुरका दुई बलात्‍कारी जेलको छिडीमा

रिपोर्ट नेपाल | 2018 Sep 05 | 09:00 am 4156

उदयपुर, भदौ २०: मुलुकभर बलात्कारको घटनाले अभिभावकलाई आतंकित परिरहेको बेला उदयपुर जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

बलात्कारीलाई कार्वाही गर्ने निकायबाटै संरक्षण भइरहेको बेला उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो ।

किटानी जाहेरी दिदासम्म प्रहरीले जाहेरी लिन आनकान गर्ने भनेर आवाज पनि उठ्ने गरेका छन् । तर, उदयपुरमा प्रहरीले बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन आएपछि सहज ढंगले जाहेरी लिएको थियो ।

पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले अभियुक्त कार्कीलाईृ तत्काल पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीका विषयमा प्रहरीले गहिरो अनुसन्धान गरी मुद्दा अदालत पेश गरेको थियो ।

यस्तै जिल्ला अदालतले उदयपुरले बालिका बलात्कारको अभियोग लागेका ६२ वर्षीय सुढीलाल चौधरीलाई पनि सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसला गरेको छ ।

उदयपुर अदालतले गरेको यो निर्णयले जिल्लामा बलात्कारका घटना कमी हुने विश्वास स्थानीय बासीले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.