तनहुँ, वैशाख १६ः तनहुँको भानु नगरपालिकाद्वारा चक्लाबन्दी खेती सुरु गरिएको छ । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन हुने र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिनसमेत घट्दै जाने भएकाले कृषिमा लागत मूल्य घटाउन चक्लाबन्दी खेतीलाई प्राथमिकतामा राखिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । ससाना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी उनले दिए ।
चक्लाबन्दीले लागत घट्ने र कृषिमा आकर्षण बढ्ने हुँदा खेतबारी बाँझो नहुने, सामूहिक रूपमा गर्दा सहज हुने, आधुनिक कृषि उपकरणको प्रयोग गरी छिटो र छरितो रूपमा काम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुने भएकाले प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
खेती प्रणालीलाई व्यवस्थित गर्न, खेतीयोग्य जमिनको क्षेत्रफल बढाउन र बाँझो जमिनलाई सदुपयोग गर्न टेवा पुग्ने हुँदा चक्लाबन्दीलाई विस्तार गरिनुपर्ने कृषि ज्ञान केन्द्र तनहुँका पूर्वप्रमुख चेतनाथ अधिकारीले बताए । खेतीयोग्य भूमि घट्दै गएकाले छरिएर रहेका जमिनलाई एकीकृत गरी उत्पादन वृद्धि गर्न चक्लाबन्दीले मद्दत पुग्ने उनले बताए । “एकल परिवारको प्रचलनले विखण्डित भएर खेती गर्न कठिन हुनुका साथै सिमाना थपिँदै जाँदा खेतीयोग्य भूमि घट्दै गएकाले छरिएर रहेका जमिनलाई एकीकृत गरी उत्पादनमा वृद्धि गर्ने चक्लाबन्दीले मद्दत पुग्न नगरप्रमुखले प्राथमिकता दिएको पाएको छु खुसी लागेको छ,” अधिकारीले भने ।
ससाना कित्ताका जमिनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको नगरपालिकाले जनाएको छ । एक बाली मात्र खेती गरिने जमिनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बिउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि गर्ने गण्डकी प्रदेश सरकारको योजनाअनुसार भानुमा सुरु गरिएको नगरप्रमुख त्रिपाठी बताउछन् ।
खेतीयोग्य जमिनको अन्य प्रयोजनका लागि अतिक्रमण हुन नदिई जगेर्ना गर्ने, जग्गा बाँझो राख्ने र खण्डीकरण रोक्ने, खेती प्रणालीलाई रूपान्तरण र विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने मुख्य उद्देश्य रहेको छ । जग्गाको आली, कान्ला कम गरी आधुनिक प्रविधिबाट कम लागतमा बढीभन्दा बढी उत्पादन दिने उद्देश्यले चुँदीफाँटमा चक्लाबन्दी कार्यक्रम सुरु गरिएकाले स्थानीय कृषकलाई राम्रो फाइदा पुग्ने भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले जानकारी दिए । खेर गएको जमिनलाई सदुपयोग गरी माटो–पानी संरक्षण गरेर कृषि उत्पादनमा जोड दिइएको नगरपालिकाले जनाएको छ ।
चुँदीफाँटको क्षेत्रमा १७१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्न लागिएको वडाध्यक्ष अर्जुनबहादुर बोहोराले जानकारी दिए । बोहोराका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग र भानु नगरपालिकाको सहकार्यमा भानु–४ को चुँदी कुमाल गाउँमा चक्लाबन्दीको कार्यक्रम सुरु भइसकेको छ । ‘जग्गा चक्लाबन्दी गरी कृषिमा आधुनिकीकरण गरौँ, खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनौँ’ भन्ने नारासहित खमलटारी बडहरे कृषक समूहले जग्गा चक्लाबन्दीको कार्यक्रमलाई अगाडि बढाएको समूहका अध्यक्ष विनोद ओझाले जानकारी दिए । भानुको चुँदीफाँट, पुर्काेटको बडहरे फाँट, सतीघाट फाँटलगायतका फाँटमा चक्लाबन्दी कार्यक्रममार्फत थोरै लागतमा बढी उत्पादन लिने उद्देश्य पालिकाको कार्ययोजनाअनुसार प्रदेशमा कार्यक्रम माग गरिएको नगरपालिकाले जनाएको छ । गाेरखपत्र अनलाइनबाट