उत्तर कोरियाली नेता र क्युबाका राष्ट्रपतिबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2018 Nov 05 | 05:31 pm 1760

सोल, कात्तिक १९  :  प्योङ्याङ भ्रमणमा रहेका क्युबाका राष्ट्रपति मिगल डायाज कनेल र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता भएको छ ।

उनीहरुबीच अत्यन्त महत्वपूर्ण र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको उत्तर कोरियाली सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

गएको जुन महिनामा उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भएको उच्चस्तरीय वार्तालगत्तै वासिङ्टनले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएका थियो । त्यो नाकाबन्दी अहिले पनि जारी नै छ ।

करिब आधा शताब्दिपछि सन् २०१५ मा संयुक्तराज्य अमेरिका र क्युबाबीचको सम्बन्ध पुनस्र्थापना भएको थियो ।

तर अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि भने यो सम्बन्ध पुनः विग्रिएको थियो । सम्बन्ध विग्रिएपछि गत जुन महिनामा अमेरिकाले क्युबामा नाकाबन्दी लगाएको थियो ।

क्युबा कम्युनिष्ट शासन व्यवस्था रहेको देश हो । त्यसैले विश्वका केही मात्र देशहरुसँगको राम्रो सम्बन्ध रहेको उत्तर कोरियाको क्युबा पनि एक सहयोगी देश हो ।

गत आइताबर क्युबाली राष्ट्रपति उत्तर कोरियाको प्योङयाङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उत्तर कोरियाली नेता उनले उनलाई विशेष स्वागत गरेका थिए ।

त्यस अवसरमा क्युबाली राष्ट्रपतिको सम्मानमा उत्तर कोरियाली सेनाले २१ तोपको सलामी पनि अर्पण गरेका बताइएको छ ।

उत्तर कोरियाली समाचार समिति केसिएनएले उनीहरुबीचको वार्ता महत्वपूर्ण रहेको बताएको छ । तर पनि त्यो वार्ता के कस्तो विषयमा भएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.