उड्दै गरेको हेलिकाेप्टरबाट सामान खस्याे

रिपोर्ट नेपाल | 2019 Sep 08 | 09:28 am 1522

सोलुखुम्बु, भदाै २२: सोलुखुम्बुमा उड्दै गरेको हेलिकाेप्टरबाट सामान खसेको छ । गत बिहीबार फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकाेप्टरबाट सामान खसेको स्थानीयले जानकारी दिए । केही समयदेखि फालु विमान स्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकाेप्टरबाट सिरक लगायतको सामाग्री झरेको स्थानीयको भनाइ छ ।

कैलाश एयरको माइक लिमा कल साइन भएको यसरी हेलिकाेप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकाेप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका छन।

लापर्वाहीका कारण सामाग्री झरेको स्थानीयको आरोप छ । जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताए ।

कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्न प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले आग्रह गरे।

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार गरिने बताए । उक्त हेलिकाेप्टर क्याप्टेन आशिष शेरचनले उडाएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.