उड्डयन क्षेत्रले ठूलो धनराशि गुमाए

रिपोर्ट नेपाल | 2021 Jan 02 | 08:38 am 2497

काठमाडौं, पुस १८: कोरोनाका कारण सन् २०२० सुखद रहेन। कोरोनाले सबैभन्दा बढी असर गरेको उड्डयन क्षेत्रको आम्दानी सन् २०२० मा करिब ८० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको समीक्षा अवधिसँग तुलना गर्दा करिब ५ अर्ब ६९ करोड रुपैयाँ आम्दानी घटेको देखिन्छ।

उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२० मा उड्डयन क्षेत्रले करिब १७ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गुमाएको छ। सन् २०२० को जनवरीबाट नै कोरोना भाइरसका कारण सबै उडानमा भएको प्रतिबन्धका कारण उड्डयन क्षेत्रले ठूलो धनराशि गुमाएको हो।

सन् २०२० मा नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले मात्रै करिब ५ अर्ब रुपैयाँ गुमाएको छ भने निजी क्षेत्रको हिमालय एयरलाइन्सले करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ। दुवै वायुसेवाले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। निगमले आन्तरिक उडान पनि भर्ने गर्छ। यस्तै, आन्तरिक तर्फका वायुसेवा कम्पनीले करिब १० अर्ब ६२ करोड रुपैयाँ गुमाएका छन्। यसमा हेलिकप्टर सेवा पनि समावेश गरिएको छ। सन् २०२० को मार्च २३ बाट लगाइएको उडानमा प्रतिबन्धका कारण र कोरोना संक्रमण वर्षभरि रहेका कारण सो वर्ष यात्रुको चहलपहल न्यून हुन पुगेको छ।

सेप्टेम्बर १ बाट बाह्य र सेप्टेम्बरको अन्तिम साताबाट मात्रै उडान खुलेको थियो। सन् २०२० को नोभेम्बरसम्म १० लाख ३९ हजार ३ सय २२ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन गरेका छन्। समीक्षा अवधिमा अघिल्लो वर्ष ४१ लाख ३८ हजार ४ सय ८२ यात्रुले आवागमन गरेका थिए। अघिल्लो वर्षसँग तुलना गर्दा करिब ६४.७३ प्रतिशतले यात्रु संख्या घटेको छ।

समीक्षा अवधि अन्तर्राष्ट्रियतर्फ ८६ प्रतिशत र आन्तरिकतर्फ ७३ प्रतिशतले हवाई यात्रु घटेका छन्।  अन्तर्राष्ट्रिय क्षेत्रमा पनि करिब ६० प्रतिशत हवाई यात्रु संख्या घटेको छ। यसले गर्दा करिब ३ खर्ब ९१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी अन्तर्राष्ट्रिय वायुसेवाले गुमाएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.