उच्च सम्मान सहित आईजीपी पिताको अन्त्येष्टी

रिपोर्ट नेपाल | 2018 Jul 09 | 04:37 pm 3916

काठमाडौं, असार २५ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका पिता डा. टीकाराम शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । ७७ बर्षिय शर्माको सोमबार बिहान उपचारको क्रममा काठामाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

सशस्त्र प्रहरीको एक टुकुडीले सलामी र शोक धुन बजाएर गरिएको अन्त्येष्टीमा छोरा शैलेन्द्र खनाल, भुवन खनाल र कुमुद खनालले संयुक्त रुपमा दागबत्ती दिएका थिए ।

पूर्व प्रशासक समेत रहेका शर्मालाई अन्तिम श्रद्धान्जली दिन गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, चन्द्र भण्डारी, त्रैलोक्यप्रताप सेन, नेकपाका यूवा नेता बुद्धि जिसी लगाएतका नेताहरुको उपस्थित रहेको थियो ।

गृह सचिव प्रेमकुमार राई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक लगाएतका अन्य अधिकृतहरुले समेत स्वर्गीय शर्माको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका थिए ।

सशस्त्र प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक लगाएत सिनियर र जुनियर अधिकृतले समेत श्रद्धान्जली अर्पण गरेका थिए । ठूलो संख्यामा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्व देखि सर्वसाधारण समेतले स्वर्गीय शर्माको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका थिए । शर्माका दुई श्रीमती तीन छोरा र एक छोरी छन् । स्वर्गीय शर्माका एक दर्जन भन्दा बढी पुस्तक प्रकाशीत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.