उच्च बन्दै वायु प्रदूषण

रिपोर्ट नेपाल | 2022 Dec 20 | 07:47 am 4633

काठमाडौँ, पुस ५ः नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए। उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको लामिछानेले बताए।

विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो। लामिछानेले भने, “पाकिस्तानदेखि बङ्गलादेशको ढाकासम्म फैलिएको गङ्गातटीय क्षेत्रमा वायु प्रदूषण उच्च छ, त्यसको असर नेपालको तराई भेगमा बढी छ भने काठमाडौँसम्म पनि प्रदूषित वायु आइपुगेको छ ।”  भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न लगाइएको आगो र मौसम परिवर्तनसँगै बढेको सुक्खा हावाले नेपालको वायु प्रदूषणलाई थप मलजल गरेको छ।

पछिल्लो समयको वायु प्रदूषणको उच्चतामा भने बढ्दै गएको चिसोले टेवा दिइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार तापक्रम चिसिएसँगै जमिनको नजिक रहेको वायु पनि चिसिन्छ। जसकारण त्यही चिसो वायुसँगै प्रदूषणका कण तल्लो वायुमण्डलमै मडारिइरहन्छ। आकाशमाथि प्रदूषित वायु जान नसकेपछि त्यो तुवाँलो बनेर आकाशमण्डलमा रहिरहँदा धर्तीमा बहने हावामा स्वच्छता कम हुँदै जान्छ। मौसमको अर्को कारणमा पश्चिमी वायु सक्रिय रहेकाले त्यो वायु पूर्वबाट आउनेभन्दा तल्लो वायुमण्डलबाट आउने गर्छ। जसले अरब सागरछेउछाउका प्रदूषण सोझै नेपालको वायुमा मिसाइरहेको मौसमविद् मानन्धर बताउछन्। मानन्धरका अनुसार अझै पनि नेपालमा वर्षा हुने छेकछन्द नदेखिएकाले वायु प्रदूषणको मार अझै केही समय खेप्नुपर्ने हुन्छ।

भारत विश्वमै पहिलो प्रदूषित देश

विश्व वायु प्रदूषण सूचीअनुसार विश्वमा सबैभन्दा बढी प्रदूषित देश भारत रहेको छ। भारतका दिल्लीसहित दसभन्दा बढी सहर अत्यधिक प्रदूषित छन्। मानव स्वास्थ्यका दृष्टिकोणले भारत यतिबेला बस्न नहुने देशका रूपमा दरिएको छ।

भारतपछि बुर्किनोफासो, चाड र मध्य अफ्रिकामा अत्यधिक प्रदूषित देशको सूचीमा छन्। नेपाल प्रदूषित देशमध्ये १३०औँ सूचीमा छ। नेपालको काठमाडौँ सहर सबैभन्दा बढी प्रदूषित सहर हो। काठमाडौँमा बिहान र बेलुकी वायु प्रदूषण उच्च हुने गरेको छ। प्रदूषणका कारण बिहान बादल लागेजस्तो आकाश धुम्म हुन्छ भने बेलुका तल्लो तहमै प्रदूषणका कण मडारिरहँदा सवारी यात्रा गर्न पनि सकस हुने गरेको आमनागरिक गुनासो पोख्छन्।

काठमाडौँको शङ्खपार्क, खुमलटार, सल्लाघारी क्षेत्र बढी प्रदूषित क्षेत्रका रूपमा दरिने गरेको प्रदूषण अनुगमन वेबसाइटले देखाएको छ। त्यस्तै तराईका विभिन्न जिल्ला पनि मानव स्वास्थ्य प्रतिकूल रहनेगरी प्रदूषित भइरहेका छन्। तराईमा शीतलहर सुरु भएकाले पनि प्रदूषण उच्च बनेको हो।

पोहोर साल बेमौसमी वर्षाले मौसमी प्रदूषण कम गराएको थियो। तर यस पटक मनसुन सकिएर पश्च मनसुनको समय र हिउँदको पन्ध्र दिन बितिसक्दा पनि वर्षा भएको छैन। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.