राजविराज , १९ असार : न्यायाधीशहरूले आदेश र फैसला गर्दा आर्थिक चलखेल गरेपछि तीन न्यायाधीशको काज सरुवा भएको छ । न्याय परिषद्ले उच्च अदालत जनकपुरको राजविराजमा कार्यरत तीनजना न्यायाधीशको काज सरुवा गरेको हो
आदेश र फैसला गर्दा आर्थिक चलखेल गरेको आरोप लगाउँदै बार एशोसिएसनले आन्दोलन चर्काएपछि काज सरुवा गरि उनीहरूमाथि छानबिन समेत सुरु गरिएको न्याय परिषद्ले जनाएको छ ।
मुख्य न्यायाधीश भई काम गर्दै आएका मोहनबहादुर कार्कीसहित न्यायाधीशद्वय डा। सलाउद्धिन अख्तर सिद्धिकी र नसरूल्लाह अन्सारीलाई न्याय परिषद्ले काज सरुवागरेको हो ।
उच्च अदालत जनकपुरको राजविराज इजलासका रजिष्टार रोशनकुमार भट्टराईका अनुसार राजविराज इजलासमा उनीहरुको काज सरुवाको फैसला गरेको हो । कार्कीलाई उच्च अदालत जनकपुर, सिद्धिकीलाई सर्वोच्चमा हाजिर हुने गरी काज र अन्सारीलाई उच्च अदालत दिपायल काज सरुवा गरिएको रजिष्टार भट्टराईले जनाए ।
न्यायाधीश मोहनबहादुर कार्की र नसरूल्लाह अन्सारीले १२ सय एम्पुल लागूऔषध फोर्टबिन प्रकाउ प्रकरणसम्बन्धी मुद्दामा कानुनविपरीत फैसला गरेका थिए । लागूऔषधलाई औषधिका रूपमा व्याख्या गर्दै राजपत्रमा प्रकाशित नै नभएको सूचनालाई आधार मानी कार्की र अन्सारीले सिरहा जिल्ला अदालतको फैसलालाई सदर गर्दा उनीहरूमाथि प्रश्न उठेको थियो । उक्त प्रकरणमा मोटो रकमको चलखेल भएको आरोप लाग्दै आएको छ ।
यसैगरी काज सरुवा गरिएका न्यायाधीश अन्सारीले गत फागुन ३ गते बलात्कारसम्बन्धी मुद्दामा विवादित आदेश गरेको, भारतीयलाई नेपाली नागरिकता किर्ते गरी लिँदै गर्दा पक्राउ गरिएकोमा उनीहरूलाई धरौटीमा छोडी भारत भाग्न सघाउ पुर्याएको र अंशसम्बन्धी मुद्दामा राय किताबका विपरीत फैसलामा उल्लेख गरेको आरोप लागेको छ ।