उचित व्यवस्थापन नहुँदा सयौं गाई मरे

| 2019 Jan 28 | 07:31 am 1647

कैलाली, माघ १४  : कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाएर नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।

त्यहाँका पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा गाईवस्तु मर्दै गएको हेरालु लालसिङ धाँमीले बताए ।

धाँमीका अनुसार यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि भएकाले गाईवस्तु मरेका हुन् । करीब तीन हजारको सङ्ख्यामा गाईवस्तु रहे पनि अहिले यहाँ जम्मा १५० मात्र रहेको जानकारी दिए ।

यो गौशालाका लागि नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्थापन गर्न सकको छैन । नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि यस प्रति चासो नदिएको अर्का हेरालु भोजबहादुर चौधरीले बताए । आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे ।

यस नगरपालिकाभित्र रहेका सयौं छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महीनामा वडा नम्ब–७ का अध्यक्ष धनबहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरी ३० लाख उपलब्ध गराएकामा अहीलेसम्म १५ लाख भन्दाबढी खर्च भइसकेको नगरपालिका वडा नम्बर–८ अध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका सदस्य भीम बोगटीले बताए ।
बारम्बार नगरपालिकाको सबै कार्यपालिका बैठकमा आफूले पशुचौपाया व्यवस्थापन गर्नतर्फ संवेदनशील हुन आग्रह गरे पनि आफ्नो कुरालाई बेवास्ता गरिएकाले आज यस्तो दिन आएको बोगटीले बताए ।

नगरप्रमुख ममताप्रसाद चौधरीका अनुसार व्यवस्थापन गरिएका ठाउँमा पशु मर्न थालेको जानकारी पाएको र ती पशुचौपाया व्यवस्थापनमा केही कमजोरी भएका कारण मरेकाले आफूले नैतिक जिम्मेवारी लिने बताउँदै आफूहरुले जति सकिन्छ गरे पनि नसक्ने स्थिति आएको स्वीकार गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.