उखु कृषकको अझै ७ करोड बक्यौता

| 2021 Sep 07 | 08:05 am 2157

वीरगंज, भदाै २२ः पर्सा र बाराका किसानले सरकारबाट गत वर्षकै उखुको अनुदान रकम नपाएको गुनासो गरेका छन् । पर्सा र बाराका उखु किसानले सरकारबाट गत वर्षकै अनुदानवापतको करिब ७ करोड रुपियाँ अहिलेसम्म पनि नपाएको उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले जानकारी दिए  । पर्सा र बाराका किसानले आफूले फलाएको उखु, बाराको श्रीपुर मनहर्वास्थित रिलायन्स सुगर मिल र रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई बेच्दै आएका छन् ।

सरकारले चिनी मिलसँग किसानको तथ्यांक लिएर प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान किसानलाई दिने गर्छ  । त्यसैले चिनी मिलले किसानलाई उखु खरिद गरेवापत रकम भुक्तानी गर्दा सरकारले तोकेको भाउमा प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा कम भुक्तानी दिन्छ । त्यो रकम सरकारले अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने गरेको छ । सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत् किसानलाई यो रकम बर्षेनी वितरण गर्ने गर्छ ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४२ रुपियाँ निर्धारण गरेको थियो । दुवै जिल्लाका किसानको अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा आउने भएकाले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नै नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका सूचना अधिकारी विष्णु सुवेदीले बताए ।

पोहोरसालकै अनुदान रकम अहिलेसम्म पनि नपाउँदा किसानहरु मर्कामा परेको अध्यक्ष साहको भनाइ छ । एक त चिनी मिलले पनि उखुको भुक्तानी समयमा नदिने गरेको र त्यसमा पनि सरकार आफैंले पनि अनुदान रकम दिन ढिला गर्दा उखु खेती गर्ने किसानको मनोबल खस्कदै गएको साहले बताए । अहिले फेरि चिनी मिललाई उखु बेच्ने समय नजिकिइसकेको अवस्थामा किसानले सरकारी अनुदानको रकम पाए, खेतबाट उखु, सम्बन्धित चिनी मिलसम्म पुर्याउने ढुवानी खर्चको जोहो हुन सक्ने आशमा किसान बसेको साहले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.