काठमाडौं, कात्तिक २४ः चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको बताए । उनले सरकार नै मूकदर्शक भएपछि आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए । उनले चिनी उद्योगीबाट अझै ५० करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताए । राजधानी दैनिकबाट