काठमाडौं, कात्तिक १४ः चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले व्यापार घाटा कम भएको छ ।
गत साउन, भाद्र र असोजमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँबराबरको आयात भएको छ भने सोही अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँबराबरको मात्र निर्यात भएको छ ।
तीन महिनामै साढे ३ खर्बको व्यापार घाटा
सो अवधिमा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागको तथ्यांकमा उल्लेख छ । यो गत आर्थिक वर्ष २०७८÷ ७९ को तुलनामा १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा आयात निर्यात व्यापार घटेकाले व्यापार घाटा पनि घटेको हो ।
गत आवमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाखबराबरको व्यापार भएकोमा यस आवको तीन महिनामा मात्रै ४ खर्ब ४२ अर्ब ८१ करोडबराबरको मात्रै व्यापार भएको हो ।
गत आवमा ४ खर्ब ७८ अर्ब ५२ करोडबराबरको मालवस्तु आयात भएकोमा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई ४ खर्ब ९९ करोडबराबरको माल सामान आयात भएको पाइएको छ ।
यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब ५ करोडबराबरको मालवस्तु निर्यात भएकोमा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोडबराबरको वस्तु निर्यात भएको हो ।
भन्सार विभागका अनुसार आयात दर गत वर्ष ८८ प्रतिशत रहेकोमा चालू आवमा ९० प्रतिशत पुगेको छ । निर्यातको हिस्सा गत वर्ष १२ प्रतिशत रहेकोमा अहिले ९ प्रतिशत मात्र रहेको छ । यस हिसाबले यस वर्ष आयात करिब ३ प्रतिशतले वढेको छ भने निर्यात २१ प्रतिशतले घटेको छ ।
भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा क्रमशः भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, युनाइटेड अरब इमिरेट्स, जोर्डन, बेल्जियम, अस्ट्रेलिया, ओमान, युक्रेन, साउदी अरेयिबा, कतार, मलेसिया, भियतनाम, थाइल्यान्ड, बंगलादेश, दक्षिण कोरिया, फ्रान्स, साउथ अफ्रिका, पाराग्वे, सिंगापुर, ब्राजिल, क्यानाडा, ताइवान, स्विजरल्यान्ड, टुर्किए, अस्ट्रेलिया रहेका छन् ।
व्यापार फाइदा रहेका मुलुकमा क्रमशः डेनमार्क, कम्बोडिया, नर्वे, उरुग्वे, स्विडेन, न्यु क्यालेडोनिया, लाटभिया, मोरिसस, मानाका, आइस्ल्यान्डलगायत छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी र व्यापार घाटाको ८० प्रतिशत भारतसँग मात्र रहेको छ । भारतसँग मात्र ३ महिनामा २ खर्ब १५ अर्ब ८० करोड २० लाख ४० हजारको व्यापार घाटा रहेको छ । भारतबाट २ खर्ब ४४ अर्ब ७७ करोडको सामान आयात गर्दा निर्यात भने २८ अर्ब ९७ करोड २१ लाख १६ हजार रुपैयाँबराबरको भएको छ ।
चीनसँग पनि चालू आवको पहिलो तीन महिनामा ५५ अर्ब ८७ करोड, ९३ लाख २ हजारको व्यापार घाटा रहेको छ । चीनबाट ५६ अर्ब ४ करोडको सामान आयात हुँदा चीनतर्फ १६ करोड ४२ लाख ४३ हजारको मात्र सामान पठाउन सकिएको छ । इन्डोनेसियासँग भने १३ अर्ब ५ करोड ४३ लाख ३० हजारको व्यापार घाटा रहेको छ ।
व्यापार फाइदा भएको मुलुक डेनमार्कबाट २५ करोड ६८ लाख ७५ हजार रुपैयाँबराबरको व्यापार नाफा भएको हो । यसैगरी, कम्बोडियासँग ७ करोड ४९ लाख २५ हजारको र नर्वेसँग ४ करोड ५९ लाख ९३ हजार रुपैयाँको व्यापार फाइदा देखिएको छ ।
सबैभन्दा वढी आयात भएकामा क्रमशः पेट्रोल, डिजेल, मोटरसाइकल, खाना पकाउने ग्यास, भटमासको तेल, स्टिल, मोबाइल रहेका छन् ।
नेपालबाट निर्यात भएकामा पाम तेल, भटमासको तेल, कार्पेट, अलैंची, चिया, जुसलगायत छन् ।
भन्सार विभागका अनुसार सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने भन्सारमा क्रमशः विराटनगर भन्सार, विरगन्ज भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची भन्सार, भैरहवा भन्सा, सुख्खा बन्दरगाह, नेपालगन्ज भन्सार जलेश्वर भन्सार रहेका छन् । राजधानी दैनिकबाट