इन्डोनेसियाको भूकम्प, मृतकको संख्या आठ सय ३२ पुग्यो

रिपोर्ट नेपाल | 2018 Sep 30 | 03:59 pm 1405

इन्डोनेसिया,  असोज १४ : इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या आठ सय ३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या “हजार”भन्दा बढी हुनसक्ने बताए ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीय रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुको भनाइ छ । अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ ।

कतिपय मृत्यु भएकाहरुको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण पाँच सय भन्दा बढी घाइते भएको जनाइएको छ ।

इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेको अनुमान गरिएको छ ।

भूकम्प र सुनामीले बस्ने घरहरु, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनाहरुमा क्षति गरेको छ । अधिकारीहरुले अझै पनि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको बताएका छन् ।

यसैवर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी पाँच ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.