काठमाडौं, साउन २ : नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले वर्तमान केपी ओली नेतृत्वको सरकार जनविरोधि भएको आरोप लगाएका छन् ।
सरकारबाट इन्टरनेट सेवामा १३ प्रतिशत कर बढाउने निर्णय गरेपछि त्यसको विरुद्धमा बुधबार नेपाल दुरसंचार प्राधिकरणमा आयोजित धर्ना कार्यक्रममा अध्यक्ष महरले टुक्का हालेर सरकारमा पुगेका केपी ओलीले निर्वाचन अघि निशुल्क वाइफाईको नारा लगाएर सोझा जनताको मत लुटेको तर अहिले आएर जनताको टाउकोमा १३ प्रतिशत कर बढाएर महंगीको भारी बोकाएको बताए ।

अध्यक्ष महरले नर्सरी देखि उच्च शिक्षासम्म अध्ययन गर्ने विद्यार्थीका लागि अति आवश्यक इन्टरनेट सेवामा कर बढाएर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको समेत आरोप लगाएका छन् । सरकारको यस्तो जनविरोधी र विद्यार्थी विरोधी क्रियाकलापको डटेर विरोध गर्न सबै विद्यार्थीलाई नेता महरले आग्रह गरे । १३ प्रतिशतका विरुद्ध १३ जना विद्यार्थी नेता १३ मिनेट धर्नामा बसेका थिए ।
