इनरुवा, मंसिर २५ : इनरुवा नगरपालिकाका इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । स्थानीय राजिब मेहताले इन्जिनियर साहमाथि दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।
घरकाे नक्सा पाससम्बन्धी फाइलको विषयलाई लिएर रुष्ट बनेका मेहताले काम नगरिदिएको भन्दै इन्जिनियरमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
तोकिएको मापदण्ड विपरित गएर इजाजत दिन नसकिने बताउँदा आफुमाथि हातपात भएको इन्जिनियर साहले बताए । कर्मचारीमाथि कार्यालय हातामै हातपात भएपछि नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
यसैबिच इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोषी उपर कानुनी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आन्दोलित कर्मचारीहरुले भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना नभएसम्म काममा नफर्किने बताएका छन् ।
कर्मचारीहरुले सेवा ठप्प पारेपछि कामकाजकालागि नगरपालिका पुगेका सर्वसाधारण भने मार्कामा परेका छन् । हातपात गर्ने मेहतालाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ ।