काठमाडौं, माघ २१ : यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । २ साता अघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर आज स्वदेश फर्किएको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको थिया । नेपालले सिरिजसँगै व्यक्तिगत उपाधिमा पनि वर्चस्व जमायो । वान डेमा शतक प्रहार गरेका कप्तान पारस खड्काले म्यान अफ द सिरिज भए । टी–२० मा युवा बलर अभिनाश बोहोरा म्यान अफ द सिरिज चुनिए ।
वान डेअन्तर्गत दोस्रो खेलमा सोमपाल कामी म्यान अफ द म्याच बनेका थिए । टी–२० मै उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । टी–२० को अन्तिम खेलमा करण केसी म्यान अफ द म्याच भएका थिए ।
यसैबीच टिमका खेलाडीलाई जनही १० हजार सहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले प्रत्येक खेलाडी तथा अफिसियलहरुलाई नगद सहित स्वागत गरेका हुन् ।
खेलाडीलाई स्वागत गर्न युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशबकुमार विष्ट लगाएतका खेल क्षेत्रका व्यक्तिहरु पुगेका थिए । यसैगरी नेपाली क्रिकेट समर्थकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने यूएईबाटै अष्ट्रेलिया जाने टोलीका प्राविधिक रमन सिवाकोटीले जानकारी दिए । सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न अष्ट्रेलिया जान लागेका हुन् ।