आसियूमै डा केसी, अन्‍ना हजारेको सत्याग्रहमा ऐक्यबद्धता

| 2019 Feb 06 | 07:15 am 2558

काठमाडौं, माघ २३ : २४ दिन अनशन बसेका चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसी तङ्ग्रिन सकेका छैनन्। अनशन तोडेलगत्तै आईसीयू भर्ना भएका उनी पाँच दिनदेखि उपचाररत छन्।

टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीलाई आईसीयूबाट मंगलबार वार्डमा सारिएको केसीका भाइ किशोर केसीले जानकारी दिए।

सरकारले आफूसँग गरेका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने मागसहित डा. केसीले शुक्रबार अनशन तोडेका थिए। सरकारले डा. केसीसँग सरकारले साउन १० मा सम्झौता गरेको थियो।

सरकारको बदनियतका कारण मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायत प्रावधानमा सुधारको काम अधुरै रहेको डा. केसीको भनाइ छ। चिकित्सा शिक्षा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न फरक ढंगले लडिरहने उनको प्रतिबद्धता छ।

सत्याग्रही डा केसीले भारतका भ्रष्ट्राचारविरोधी सामाजिक अभियान्ता एवं सत्यग्रही अन्ना हजारे (किसन बाबु राव हजारेको आमरण अनशनमा ऐक्यावद्धता जनाएका छन्। डा केसीले सोमबार एक पत्रमार्फत् आफूसहित सहयोगी, नेपाली जनता र शुभेच्छुकका तर्फबाट यस्तो ऐक्यावद्धता जनाएका हुन्। हजारेले जनवरी ३० देखि लोकपाल ऐनमा भएको प्रावधानअनुसार केन्द्रमा लोकपालको गठन र राज्यमा लोकायुक्तको नियुक्तिको माग गर्दै अनशन थालेका थिए।

उनी आफ्नो गाउँ महाराष्ट्रको रलेगण सिद्दिमा ६ दिनदेखि अनशनरत छन्। सन् २०११ मा हजारेले जनलोकपाल अभियानको नाममा सत्यग्रह सुरु गरेका थिए । उनको मागअनुसार ऐन बनेपनि सोअनुसारका नियुक्ती नहुँदा कार्यान्वयन हुन सकेको छैन्।

केसीले लोकतान्त्रिक राज्यमा एउटा नागरिकको कर्तव्य र जिम्मेवारीलाई विश्वास गर्दै, कानूनी शासनको सम्मानसहित आफू र आफ्ना शुभेच्छुक, सहयोगीको प्रतिनिधित्वगर्दै ७ वर्षअघि सत्याग्रह सुरु गरेको स्मरण गरेका छन् । सत्याग्रह सत्यलाई स्थापित गर्ने शान्तिपूर्ण बलियो माध्यम भएको विश्वाससमेत डा केसीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.