आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेको आर्थिक सहयोग

रिपोर्ट नेपाल | 2022 Feb 21 | 08:10 am 2277

सन्तोष महतारा, फागुन ९ः आशा अपांग केन्द्र गुल्मीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गुल्मी जिल्ला समाज यूकेले संकलन गरेको रकम आइतबार आशा अपांग केन्द्र गुल्मीलाई हस्तान्तरण गरिएको हो ।

गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवालीले केन्द्रलाई २ लाख १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बिदेश बस्ने नेपालीको भावना जन्मभूमिसँग जोडिएकोले गुल्मी जिल्ला समाज यूकेले निरन्तर सहयोग गरिरहेको बताए । गुल्मीका हरेक क्रियाकलापहरुमा गुल्मी जिल्ला समाज यूके प्रत्यक्ष रुपमा जोडिएर सहयोग गरेको हुदा सबै प्रवासीसँग आफू र सिङ्गो गुल्मी आभार रहेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

कार्यक्रममा बिशिस्ट अतिथि आर्थिक सहयोग हस्तान्तरण गर्दै गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवालीले संस्थाले निरन्तर गुल्मेलीहरुलाई सहयोग गरिरहेको बताए । संस्थाले गुल्मीमा शिक्षा र स्वास्थ्यसँग जोडिने क्रियाकलाप र विपद् आइलाग्दा निरन्तर सहयोग गरिरहेको छ । रीडीमा एम्बुलेन्स हस्तान्तरण, बडा गाउँमा आगलागी हुँदा, लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा लगायतका क्षेत्रमा गुल्मी जिल्ला समाज यूकेले आर्थिक सहयोग गरिरहेको संस्थाका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार ज्ञवालीले बताए । समाजले प्रत्येक वर्ष आशा अपांग केन्द्रलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले आशा अपांग केन्द्रले अपांगता भएका ब्याक्तिको क्षेत्रमा उल्लेखनीय काम गरेकोले केन्द्रलाई सहयोग गर्न आवश्यक रहेको बताए । गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोगको प्रशंसा गर्दै प्रवासमा रहने नेपालीलाई धन्यवाद दिए ।

कार्यक्रममा आशा अपांग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले सहयोग गर्नेप्रति आभार ब्यक्त गर्दै स्वागत मनतब्य राखेकी थिइन् । आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन केन्द्रका अमृत रसाइलीले गरेका थिए । आशा अपांग केन्द्र गुल्मीले अपांगता भएका व्याक्तिहरुको क्षेत्रमा काम गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवाली, नेपाली सेना संग्राम सार्दुल गुल्म गुल्मीका सह(सेनानी दयाराम ढकाल, नागरिक समाज गुल्मीका गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डे, आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष गंगा रायमाझी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.