आवश्यक परे पाँच सय शिक्षालयमा क्वारेन्टाइन स्थापना गर्छौंः शिक्षामन्त्री

रिपोर्ट नेपाल | 2020 Apr 26 | 07:21 am 2180

काठमाडाैं, बैशाख १४ः सरकारले देशभरका २ सय ४३ सामुदायिक विद्यालय र करिब २ सय ५० क्याम्पसमा क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरस संक्रमित भएका र विदेशबाट आएकालाई राख्न विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने निर्णयलगत्तै क्याम्पस तथा विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ठँला विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने जनाएपछि तत्कालका लागि करिब ५ सय शिक्षालयमा क्वारेन्टाइन निर्माण भएको जानकारी दिए।

मन्त्री पोखरेलले क्वारेन्टाइन निर्माण भएका विद्यालय र क्याम्पसमा तत्काल पठनपाठन सञ्चालन गर्न नसकिने जानकारी दिए । उनले भने– ‘अवस्था हेरेर देशैभरका विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने योजनामा छौं, त्यसैले ती विद्यालय र क्याम्पसमा तत्काल पढाइ हुने अवस्था छैन ।’

हाल सबैभन्दा घेरै सुदँरपश्चिम, प्रदेश–५ र २ का ठूला विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएको छ । हाल क्वारेन्टाइन निर्माण भएका अधिकांश क्याम्पस त्रिविका आंगिक र सम्बन्धन हुन् । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आवश्यकताको आधारमा सबै आंगिक क्याम्पसलाई क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका थिए ।

उपकुलपति प्राडा बास्कोटाले अहिले डडेल्धुरा, नेपालगन्ज, दाङ, पाल्पा, गुल्मी, बुटवललगायत जिल्लाका ठूला आंगिक क्याम्पसमा क्वारेन्टाइन स्थापना भइसकेको र केहीमा निर्माण हुन बाँकी रहेको बताए । उनले भने– ‘संक्रमितको संख्या बढ्दै गए सबै क्याम्पसलाई क्वारेन्टाइन निर्माण गर्न दिनेछाैं ।’ उनले कीर्तिपुर नगरपालिकाले त्रिविको बेसिक साइन्स क्याम्पसलाई करिब ५० बेडको क्वारेन्टाइन निर्माण भइसकेको जानकारी दिए ।

सरकारले प्रयोगमा ल्याएका क्वारेन्टाइनमध्ये अधिकांश त्रिविको सम्बन्धन क्याम्पस रहेका छन् । मन्त्री पोखरेलले त्रिवि मात्रै नभई हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालयअन्तर्गतका क्याम्पसलाई क्वारेन्टाइन बनाउन सकिने जानकारी दिए । उनले भने– ‘अहिले त्रिविअन्तर्गतका क्याम्पसलाई प्रयोगमा ल्याएका छौं, आवश्यक भए सबै विश्वविद्यालयका क्याम्पस प्रयोग गर्नेछौं ।’

मन्त्री पोखरेलले भनेजस्तो त्रिविअन्तर्गतका क्याम्पसहरू मात्रै क्वारेन्टाइन बनाइएको छैन, केही प्रदेशमा अन्य विश्वविद्यालयका क्याम्पसलाई समेत क्यारेन्टाइन बनाइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.