आलु खेतीमा आकर्षण बढ्दो

| 2022 Nov 16 | 07:32 am 1313

गुल्मी, कात्तिक ३०ः गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं. ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।

समूहमा आबद्ध कृषकले ६५ क्विन्टल आलु लगाएका छन्। आलु जेठमा उत्पादन भएको थियो। यस वर्ष आलु खेती राम्रो उत्पादन भएको छ। वडा नं. ८ को मैदान, सन्क्यौल, रुक्से र आगोपारेका महिला मिलेर गठन गरेको समूहलाई सहकारीले कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा अनुदानसमेत उपलब्ध गराएको छ।

सहकारीमा हालसम्म पाँच सय जना सदस्य आबद्ध छन्। सहकारीले महिलालाई कृषि पेसामा प्रोत्साहितसँगै मासिक बचत गर्नसमेत सिकाएको छ। “मासिक रूपमा सहकारी सदस्य तथा समूहका महिलाबाट बचत उठाउँदै आएका छौँ। ऋण उपलब्ध पनि गराएका छौँ। सहकारीले पहिलो कृषि हाटबजारसमेत सञ्चालन गरेको छ,” सहकारी संस्थाकी प्रबन्धक कृष्णा गुरुङले भने। सहकारी संस्थाले मौरीपालनसम्बन्धी कार्यक्रम पनि गरेको उनले बताए।

२०६६ सालदेखि व्यावसायिक रूपमा आलु खेती गर्दै आइरहेका कृषकलाई सहकारी संस्था आफैँले बीउ उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान र उत्पादित सामग्रीको बजारीकरणमा समेत सहयोग गरेको छ। सहकारी संस्थामार्फत सो समूहमा आबद्ध कृषकलाई बीउलगायतमा अनुदान दिइएको छ। आलु खेतीबाट महिलालाई आत्मनिर्भर बनाई कृषिप्रति प्रोत्साहन गर्न र महिला उद्यमी सिर्जना गर्न समूहमार्फत आलु मिसन कार्यक्रम सञ्चालन थियो।

एक सय रोपनी क्षेत्रफलमा ढोरपाटनको आलुको बीउ ल्याएर सहकारी आफैँले समूहलाई उपलब्ध गराएको सहकारीकी अध्यक्ष यमुना घिमिरेले बताइन्। “महिलालाई आर्थिक र व्यावसायिक सशक्तीकरणमा अगाडि बढाउन कृषिसँग जोडेर सहकारीले अन्य थुप्रै कार्यक्रम सञ्चालन गरेको छ। मुसीकोट नगरपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउनेछौँ,” उनले भनिन्।

सहकारी संस्थाले बीउ, उत्पादन र बजारीकरण हरेक क्षेत्रमा सहयोग गरेकाले खेती गर्न सजिलो भएको अमृतपुर आलु तथा अलैँची उत्पादक समूहकी सचिव दिलमाया रानाले बताइन्। समूहमा आबद्ध भएर आलु खेती गर्दा प्राविधिक तथा अन्य आवश्यक ज्ञान प्राप्त गर्न समेत सहज भएको बताइन्।

त्यस्तै सहकारीले अनुदान उपलब्ध गराएर खेती गर्न उत्प्रेरित गरेको समूहकी अध्यक्ष कुमारी सिञ्जालीले बताइन्। महिलाहरूलाई आत्मनिर्भर बनाउनसमेत सहकारीले निकै ठूलो भूमिका रहेको उनको भनाइ छ। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.