धादिङ, माघ १४ः धादिङका किसानले लगाएको हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । धादिङको नीलकण्ठ नगरपालिका ७ का अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको छ ।
केहीदिन अघि परेको आकाशे पानी र त्यसपछिको तुसारोले अन्य कृषिवाली लाई फाईदा पुगे पनि आलुखेतीलाई भने नराम्रो असर पारेको छ । पानी र तुसारोका कारण आलुको पात र डाँठ नै सुक्न थालेको तल्लोबेसीका आलुखेती किसान पार्वती अधिकारीले बताइन् ।
अधिकारीको मात्र होईन, अन्य किसानले लगाएको आलु पनि डढुवा रोगले सखापै पारेको छ । लामो समयदेखि आलुखेती गर्दैआएका रामप्रसाद अधिकारीले अहिलेको वर्षजस्तो डढुवा रोगको प्रकोप कहिल्यै भोग्न नपरेको बताए। चिसो मौसमको सुरुवातीसँगै किसानले लगाएको आलु खेती नष्ट भएको छ । प्रायः सबै किसानले लगाएको आलु खेतीमा डढुवाको संक्रमण फैलिएको छ । माघको पहिलो सातादेखि नै डढुवा रोग लागेर सखाप भएपछि किसानले आलु मासेर अन्य खेती गर्न थालेका छन् ।
किसानमा प्राविधिक ज्ञानको कमीले पनि आलु खेतीमा रोग लाग्नेगरेको धादिङका वरिष्ठ बाली संरक्षण अधिकृत होमनाथ लम्सालले बताए । वर्षात हुने, राम्रो घाम नलागेर शित नओभाउने ठाउँमा रोग बढी फैलिएको पनि लम्सालकोे भनाई छ । आलु खेती गर्दा प्राबिधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्न नसक्दा रोगले प्रभाव पार्ने लंम्सालले बताए । वातावरण नसुध्रिए अझै पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने लम्सालले बताए ।
कृषि ज्ञान केन्द्र धादिङको तथ्यांकअनुसार जिल्लामा दुई सिजन गरेर २५ सय ४३ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदैआएको छ । उत्तरी धादिङको रुविभ्यालीलाई आलुको पकेट क्षेत्र मानिन्छ । नीलकण्ठ, बेनिघाट, धुनिवेसी, गजुरी, ज्वालामुखी, नेत्रावती डबजोङलगायतका क्षेत्रमा आलु खेती हुँदैआएको छ ।