आलुका बोट सप्रिएपछि किसान खुसी

रिपोर्ट नेपाल | 2022 Feb 02 | 08:46 am 2629

रसुवा, माघ १९ः दक्षिणी भेगका खेतीयोग्य जमिनमा लगाइएको हिउँदे आलुको बोट सप्रिएपछि यहाँका किसान खुसी भएका छन्। धान उत्पादनपश्चात् गत मंसिरमा रोपिएको आलु गोडमेल गर्दा जरामा राम्रो फल भेटिएपछि किसानमा उत्साह बढेको हो।

उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाअन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं किसान आलुखेतीमा सहभागी हुँदै आएका छन्।

पहिरेबेंसी, बनुवा, मनिगाउँ, पहिरे, कुडुल्ले, गिद्धेखोला, जिबजिबे, गैरीगाउँ, रूप्सेपानी, भदौरे, सरमथली, दनुस्वारालगायत फलाखु खोला, धोबी खोला, अँधेरी खोला एवं पाहाखोलाको पानीले पहुँच पुग्ने क्षेत्रका आसपासमा आलु रोप्न किसानले प्राथमिकता दिँदै आएका छन्।

दक्षिणी भेकका अधिकांश खेतबारीमा आलुको साथसाथै हिउँदे तरकारी रोप्नसमेत जागरण आइसकेको छ। यो वर्षको उत्पादित आलु बिक्रीबाट तीन करोड रूपैयाँ आय हुनसक्ने स्थानीय किसानले अनुमान गरेका छन्।

आलुका अतिरिक्त दैनिक जीविकोपार्जन सहज हुने गहुँ, तोरी, मुला, बन्दा, काउली, हरिया साजसब्जीजस्ता तरकारीमा पनि जागरण बढिरहेको बनुवाका विष्णुप्रसाद आर्चायले बताए।

आफ्नै खेतबारीमा अर्गानिक तरिकाले उत्पादन गरिएका थोरबहुत हिउँदे तरकारी बिक्रीको प्राप्त आयबाट अधिकांश किसानलाई नुन, तेलजस्ता दैनिक अत्यावश्यक बस्तुको गर्जाे टार्नसमेत सहज भएको आचार्यले जानकारी दिए। उत्तरी रसुवाका अधिकांश भागमा हिमपात हुने र केही भागमा जमिन अत्यधिक चिसो हुने भएकाले राम्चेदेखि उत्तरतर्फको पूरै भागमा भने बर्से आलु मात्र रोप्ने चलन छ।

राम्चे, धुन्चे, भार्खु, हाकु, गोल्जुङ, गतलाङ, यार्सालगायत क्षेत्रमा फागुनको तेस्रो हप्तादेखि आलु रोप्ने काम सुरु हुने किसान रामकाजी तामाङले बताए। यतिखेर उत्तरी रसुवाका किसान बर्से आलु रोप्नका लागि जमिन तयारी गर्ने काममा जुटेका छन्।

फागुनमा रोपिएको आलु साउनको १५ देखि खन्न सुरु भई भदौसम्ममा बिक्री भइसक्ने र खरिदकर्ता गाउँटोलमै पुग्ने गरेका छन्। गएको वर्ष उत्तरी भेगमा करिब पाँच करोड बराबर बर्खे आलु उत्पादन भएको स्थानीयको अनुमान रहेको छ।

रसुवा जिल्ला हिमाली क्षेत्र भएको र गाई बाख्रापालन गरेर बारीमा मलखादको व्यवस्था गर्ने, विषादी औषधि प्रयोग नगर्ने परम्परा भएका कारण रसुवामा उत्पादित आलु बिक्रीले पहिलो प्राथमिकता पाउने गरेको किसान याकबहादुर लिम्बू बताउँछन्।

२०४० साल अगाडिसम्म काउली, आलु, लसुन, प्याज आदि खरिद गर्न पनि नुवाकोटको त्रिशूली बजार पुग्नुपर्ने थियो भने अहिले प्रत्येक किसानका बारीमा सब्जी उत्पादन हुन थालेको बताउँदै स्थानीय किसान भवनाथ पौडेलले भने, ‘सरकारले कृषि क्षेत्रमा ल्याएको जागरण जनहितकारी बन्दै गएको छ।’ नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.