आर्थिक वर्ष ०७६/७७ मा तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार

रिपोर्ट नेपाल | 2020 Jul 19 | 11:09 am 1673

तनहुँ, साउन ४ः डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ। उक्त अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ।

भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरी वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक/एक रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी छजना बालबालिकाको मृत्यु भएको छ। सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक÷एक गरी छजनाको मृत्यु भएको हो ।

चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरु घर फर्किसकेका छन् । नेपाल सरकारले चितुवाबाट मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले र घाइतेलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।

चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो।

चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले जानकारी दिए। वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उनले बताए।

चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना रहेको उनले बताए।

डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा चितुवा आक्रमणबाट ४८ वटा घटनामा ५९ पशुधनको क्षति भएको छ। भेडारबाख्रा ३६, गाई आठ, सुगुँरबँगुर छ र भैँसी दुईको क्षति भएको हो। पशु क्षतिमा परेका परिवारलाई दुई लाख १८ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको प्रमुख बरालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.