काठमाडौं, बैशाख २७ः काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखारीले आज एक विज्ञप्ती जारी गर्दै एक न्युज पोर्टलले पूर्व गृहसचिव टेकनारायण पाण्डे र कांग्रेस सांसद आरजु राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीले भेट गराएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी अनुसन्धानको क्रममा रहेको नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकहरुलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्नेगरी कुत्सित मनसायले झुठो आधारहिन सूचना संप्रेषण गरिएको समाचारमा सत्यता नभएको विज्ञप्तीमा उल्लेख छ ।
प्रहरी बरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा प्रहरीबाट भइरहेको अनुसन्धान कार्यलाई सहयोग गरिदिन भनिएको छ ।
