कास्की, असार १८ः किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाख्रा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजना गरिएको बाख्रा पकेट क्षेत्रमा लागत साझेदारीमा बाख्रा बितरणका साथै साना मेसिनरी (बर्डिजो क्यास्ट्रेटर), औषधि तथा बहुबर्षे भुइँ घाँस र डाले घाँस बितरण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वड़ा नम्बर ८ र १० का वडाध्यक्षद्वय विजय गुरूङ र कुमार गुरूङको उपस्थितिमा सोहि वड़ामा रहेको घान्द्रुक़ बाख्रापालन समूहका किसानलाई उन्नत जातको बाख्रा वितरण गरिएको हो ।
समूहका ५० जना किसानलाई जनहि २ वटाका दरले खरी जातको बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए । उनका अनुसार यसका लागि गाउँपालिकाले दश लाख रूपैया खर्च गरेको छ ।
अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उकास्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे।
बाख्रा हस्तान्तरण गर्दै कुँवरले भने, “अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” गाउँपालिकाले आयआर्जनको माध्यमबाट बेरोजगार युवालाई स्वरोजगार बनाउन बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरूङले बताइतन्। राजधानी दैनिकबाट