आमाको नामबाट नागरिकता लिन अदालतको आदेश कुर्नुपर्ने

रिपोर्ट नेपाल | 2022 Jul 12 | 07:15 am 1661

धनकुटा, असार २८ः बाबुको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाँदा हुन्छ भने आमाको नामबाट नागरिकता लिन अदालत जानै पर्ने बाध्यता रहेको छ ।

सानैमा बाबुले छोडेका आमा तारा तामाङ्गसँग धनकुटा नगरपालिका वडा नम्वर ७ मा बसोबास गर्दै आएका छोराहरु नरेश तामाङ्ग, ओम तामाङ्ग र गणेश तामाङ्गले न्याय माग्दै अदालतसम्म धाएर बंशजका आधारमा आमा तारा तामाङ्गको नामबाट नागरिकता पाएका छन् ।

यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । उनहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता नपाएपछि उच्चअदालत विराटनगर धनकुटा इजलासमा दायर गरेको रिटमा अदालतले उनीहरुलाई आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा नागरिकता बनाउन जादा प्रशासनबाट नागरिकता नपाएपछि तामाङ्गले प्रशासनलाई विपक्षी बनाएर उच्चअदालत विराटनगर धनकुटा इजलासमा गत २०७८ चैत १४ गते र गौरीले १६ गते रिट दायर गरेका थिए ।

अदालतले दुवै रिटको २०७८ असार २१ गते जिल्ला प्रशासन कार्यालय धनकुटाका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरे बमोजिम नागरिका पाएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ तर पनि धनकुटा प्रशासनले उनीहरुलाई नागरिकता दिन इन्कार गरेको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.