आफ्नो पाइलट नियन्त्रण गरेपछि भारत आक्रोशित

इमरानले मोदीलाई भने-‘जवाफी कारबाही पाकिस्तानको बाध्यता’

रिपोर्ट नेपाल | 2019 Feb 28 | 03:24 pm 1712

एजेन्सी, फागुन १६ :  पाकिस्तानले भारतको पाइलटलाई नियन्त्रण लिएपछि भारत आक्रोशित बनेको छ । भारतले आफ्ना पाइलटलाई नियन्त्रण मुक्त गर्न माग गरिराखेको छ, भने पाकिस्तानका प्रधानमन्त्रीले भारतलाई वार्ताको लागि पस्ताव गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने, ‘आउनुहोस् वार्ताको टेबलमा बसौँ ।’

पाकिस्तानले भारतको लडाकु विमानका पाइलटलाई नियन्त्रण लिइएको भिडियो सार्वजनिक गरेको थियो । भारतले कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर ध्वस्त गरिदिएको दाबी गरेको थियो।

पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो।

जवाफी कारबाही पाकिस्तानको बाध्यता

पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई राम्रो व्यवहार गरिएको बताएको छ । टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौँ। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न आवश्यक छ।’

प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए।

जबाफीकाे कारबाही किन ?

जवाफी कारबाही गर्नु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौँ। बुधवारको जबाफ दियौँ र भन्यौँ – तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु।

भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले सुरक्षा र गुप्तचर संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.