काठमाडौं, मंसिर १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले कार्यकर्ताको ठूलो मेहनत पश्चात् प्राप्त दुई तिहाइको वर्तमान सरकार कुनै पनि हालत वा वहानामा असफल र कमजोर हुन छुट नभएको बताएका छन् ।
शनिबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै नेता खनालले अहिले जुन ढंगबाट सरकार चलेको छ त्यो अत्यन्तै असफल भएको छ यही ढंगले चल्ने हो र जनताले चाहे जस्तो गर्न नसक्ने हो भने सत्ता छाडेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व छोडेर पूर्व सम्झौता अनुसार प्रचण्डलाई हस्तान्तरण गर्ने भन्न खोज्नु भएको हो ? भनेर राखेको जिज्ञासामा पार्टी एकता हुँदा कहिकतै लिखित रुपमा यस्ता सम्झौता भएका छैनन् ।
कस्को, कहाँ, के आवश्यकता पर्छ त्यो हचुवाको भरमा होइन पार्टीले निर्णय गर्ने कुरा पनि नेता खनालले बताए । आफू यूवाको विचार र कृयाशिलतामा सन्तुष्ट हुने मान्छे भएकोले यूवाहरु नेतृत्व लिन कृयाशिल हुनपर्ने नेता खनालको भनाई रहेको थियो ।
पार्टी एकीकरणलाई अव कसैले हल्लाउन नसक्ने बताउँदै नेता खनालले जति सक्यो छिटो सचिवालय र स्थायी कमिटिको बैठक बोलाएर जनवर्गीय संगठनलाई एकता गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
एक छुट्टै प्रसंगमा बामदेव गौतम प्रतिवन्धित कालदेखि आजसम्म निरन्तर पार्टीको खम्बा भएको बताउँदै उँहाले केही कुरा इच्छा व्यक्त गर्नु स्वभाविक भएको समेत खनालको भनाई रहेको थियो । पार्टीका अर्का नेता माधव नेपाल प्रति आक्रोशित हुँदै माधवजीले आफ्नो काँधमा टेकेर अग्लो हुन खाजेको आरोप लगाए ।