म्याग्दी, बैशाख २९ः आफ्नै बुबाको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगर रहेका छन् र उनले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए ।
ढुङ्गा प्रहारपछि अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो । प्रनाउ कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी मृतककी श्रीमती तथा कुमारकी आमाले बयान दिइन् र छोराले पनि स्वीकार गरेका छन् ।
अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ, प्रनाउ कुँवरले भने । अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ ।
घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ । घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुङ्गा प्रहार गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ ।