दार्चुला, साउन २२ः आफ्नै आमा हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहु गाउँपालिका ३ चौपातीका ५३ वर्षीया नर बहादुर बम रहेका छन् ।
उनलाई ८२ वर्षीया आमा नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।
त्यसैगरी सुनसरीको देवानगञ्ज २ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न फरार रहेका २५ वर्षीय प्रदिप यादवको प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका ६ घर भएका ३१ वर्षीय कर्ण बहादुर महतरा र जगदुल्ला गाउँपालिका ४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरालाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसैगरी ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका ३ बस्ने २६ वर्षीय रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।