तनहुँ, भदाै २४ । पृथ्वी राजमार्ग सडक खण्डको एक रेष्टुरेन्टमा खाद्य पदार्थहरुमा आफु खुशी स्टिकर टाँसी बढी मुल्यमा विक्री गर्ने रेष्टुरेन्ट संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दे गाउँपालिका वडा नं.२ जामुने रिमले स्थित पृथ्वी राजमार्ग सडक खण्डमा रहेको अर्जुन बहादुर रानाभाटले संचालन गर्दै आएको पोखरा हाईवे रेष्टुरेन्ट एण्ड खाजा घरमा कम्पनिको प्रिन्ट लेबल छोपेर आफु खुशी बढी मुल्यको स्टिकर टाँसी सामानहरु बिक्रि वितरण गरेको भेटिएको हो ।
विशेष सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तनहुँ,जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले स्थानिय जनप्रतिनिधीको रोहबरमा उक्त खाजा घरमा चेकजाँच गरेको थियो । चेकजाँच गर्दा दोहोरो लेबलिङ गरी राखेको बिभिन्न खाद्यपदार्थहरु भेटिएका थिए । उक्त खाद्यपदार्थहरु बरामद गरी रेष्टुरेन्ट संचालक रानाभाटलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धि कसुरमा दिन ४ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाएका छन् ।