आर्थिक वर्ष २०७७/७८

आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

रिपोर्ट नेपाल | 2021 Aug 28 | 07:43 am 1585

काठमाडौँ, भदौ १२ः आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा आधारित नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २६.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी १२.६ प्रतिशतले बढेको थियो ।

निक्षेप परिचालन पनि बढ्यो
समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । २०७८ असारमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह बढ्यो

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैङ्कहरूको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।

२०७८ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

२०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा बैङ्क तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २९.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १५.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ ।

निक्षेप तथा कर्जा सुरक्षण
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तमा ६६ वटा बैङ्क तथा वित्तीय संस्थामा तीन करोड एक लाख खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम ८११ अर्ब ६२ करोड रुपियाँ निक्षेप सुरक्षण गरेको छ ।

२०७६ असार मसान्तमा दुई करोड ६० लाख खातामा रहेको ६८९ अर्ब ४९ करोड करोड निक्षेप सुरक्षण गरिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको एक खर्ब ४१ अर्ब बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७७ असार मसान्तमा ६५ अर्ब आठ करोड रुपियाँ बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.