कपिलवस्तु, असाेज १६ः नेपालबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय पवनकुमार गुप्ता रहेका छन् ।
उनलाई प्रहरीले बिहीबार साँझ लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियाबाट उक्त अवैध सुनसहित पक्राउ गरेको हो ।
गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।