आत्मा के हो र त्यो कहाँबाट आउँछ ?

| 2018 Sep 12 | 06:00 am 5682

सन् १०६८ मा मासाचुसेट्स प्रविधि अध्ययन प्रतिष्ठानका विद्यार्थीहरुको भेलासमक्ष बोल्दै श्रील प्रभुपाद प्राविधिक अनुसन्धानमा देखिएको एउटा महत्वपूर्ण कमी–कमजोरीलाई औंल्याउनुहुन्छ । “शिक्षण संस्थानमा विविध विषयहरु पढाइने थुप्रै विभाग भए पनि सजीव शरीर र निर्जीव शरीरबीच पाइने अन्तर्भेदसम्बन्धी अध्ययन गर्ने विशेष विभाग हलसम्म कतै देखिन्न।”

भौतिक शरीरको संरचना तथा त्यसको कार्यविधि बुझ्ने सन्दर्भमा आधुनिक विज्ञानले निकै प्रगति गरिसकेको भए पनि शरीरलाई सजीव एवम् सक्रिय बनाउने चतनशील आत्मतत्वको अध्ययन गर्न कमै चासो देखाएको पाइन्छ ।

(मोन्ट्रियल गजेट) दैनिक पत्रिकामा प्रकाशित लेखको निम्न अंशमा विश्व–विख्यात हृदयरोग विशेषज्ञ डाक्टर जि. बिगेलोले आत्मा के हो र त्यो कहाँबाट आउँछ ? भन्ने विषयमा व्यवस्थित तरिकाले अनुसन्धान गरी टुङ्गो लगाउनुपर्ने कुरामा जोड दिएका छन् ।

डाक्टर बिगोलेको सार्वजनिक अपिलको प्रत्युत्तरमा श्रील प्रभुपादद्वारा लेखिएको पत्रको विवरण अंश पनि तल प्रस्तुत गरिएको छ । श्रील प्रभुपाद आत्मातत्त्वसम्बन्धी विषयमा सारगर्भीत वैदिक ज्ञान प्रस्तुत गर्दै वैज्ञानिक तरिकाले आत्माबोध गर्ने व्यावहारिक विधि बताउनुहुन्छ ।
आत्मा के हो ? भन्नेबारे मुटु शल्य चिकित्सक जान्न चाहन्छ

विन्डसोरः विश्व–विख्यात क्यानाडेली मुटु चिकित्सक भन्छन् : शरीरमा आत्मा हुन्छ र मृत्युको बेलामा आत्माले शरीर त्याग्छ भन्ने कुरामा उनलाई विश्वास छ । धर्मविद्हरुले यस तथ्यलाई अझ प्रकाशमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ । डाक्टर विलफ्रेड जि. बिगेलो टोरोन्टो जेनेरल अस्पतालका मुटु शल्य चिकित्सा विभागका प्रमुख हुन् ।

उनले भनेका छन्, “आत्माको अस्तित्वमा विश्वास गर्ने व्यक्तिले आत्माको रहस्यलाई उजागर गर्नुपर्ने र यसलाई पत्ता लगाउनुपर्ने समय आइसकेको छ ।”

एसेक्स काउन्टी मेडिकल लिगल सोसाइटीद्वारा आयोजित एक छलफल कार्यक्रममा डाक्टर बिगेलो पैनेले सदस्यका रुपमा सहभागी हुन आएका थिए । छलफल कार्यक्रमको विषय थियो, “मृत्युको विशेष क्षण र त्यसलाई परिभाषित गर्नमा देखिएका समस्याहरु ।”

मुटु र त्यस्तै अन्य अङ्गहरुको प्रत्यारोपण गर्ने बढ्दो अभ्यास भइरहेको बेलामा अङ्गदान गर्ने दाताहरुको पनि मृत्यु हुने सम्भाव्यता देखिएको हुनाले उक्त छलफलमा यो टड्कारो प्रश्न उठेको हो ।

क्यानाडेली मेडिकल एसोसियनले हाल मृत्युसम्बन्धी सर्वस्वीकृत परिभाषलाई सार्वजनिक गरेका छन् । मृत्यु भनेको त्यही क्षण हो, जतिबेला रोगी लामो समयसम्म मुर्छित अवस्थामा रहन्छ, छुँदा–चलाउँदा कुनै प्रतिक्रिया देखाउँदैन र यन्त्रमा जोडिएको मस्तिष्क तरङ्गको अभिलेख पनि शुन्यमा पुग्दछ ।

उक्त छलफल कार्यक्रमका सहभागी सदस्यहरुमा ओन्टारिओ सर्वोच्च अदालतका प्रधान न्यायाधीश एडसन एल हैनस् साथै विन्डसोर विश्वविद्यालयका उपकुलपति जे फ्रान्सिस लेड्डी पनि थिए ।

छलफल कार्यक्रम सकिएपछि लिइएको एउटा अन्तर्वार्तामा आफूद्वारा उठाइएका बुँदागत विषयहरुमाथि टिप्पणी गर्दै डाक्टर बिगेलोले शल्य चिकित्सक भएर ३२ वर्ष लामो समयसम्म काम गर्दा बटुलेको अनुभवले उनलाई आत्मा छ भन्ने कुरामा कत्ति पनि शङ्का नरहेको बताए।

“कतिपय समयहरुमा मानिस जीवित अवस्थाबाट तत्कालै मरणावस्थामा पुगेको र उसमा रहस्यमय परिवर्तन आएको घटनाक्रम हामीले प्रत्यक्षरुपमा देख्ने गर्छौं ।”

“मान्छे मर्ने बेलामा उसको आँखाको तेज तुरुन्तै हराएको देखिन्छ । ती आँखाहरु एकाएक मन्द र निस्तेज बन्न पुग्छन् ।”
“मरणको क्षणमा आफूले देखेजति सबै कुराको लिखित दस्तावेज तयार पर्नु एकदमै गाह्रो छ । वास्तवमा मलाई लाग्छ, त्यस्तो दस्तावेज राम्रोसँग तयार पर्नै सकिन्न होला ।”

“डिप फ्रिज” अर्थात् शरीरको तापक्रम न्यून बनाई शल्यचिकित्सा गर्ने प्रविधि वा हाइपोथर्मिया प्रविधिको विकास गर्नमा र मुटुको झिल्ली शल्यक्रिया गर्नमा समेत अग्रणी भूमिका निभाएका विश्वविख्यात डाक्टर बिगेलोले धर्मविद् तथा विश्वविद्यालय भित्र धर्म सम्बन्धी विषयमा संलग्न रहेको विधाले “आत्माको खोज” गरी अझ स्पष्ट पार्न आवश्यक भएको बताए ।

उक्त छलफलमा फ्रान्सिस लेड्डीले भने, “आत्मा भए पनि तपाइले देख्न सक्नुहुन्न । तपाईले त्यसलाई फेला पार्न पनि सक्नुहुन्न ।”
“जीवनी शक्ति र जीवनको सन्दर्भमा प्रश्न उठाउने हो भने त्यो खास के हो त ?” समस्या के छ भने आत्मा खासगरी कहीँ पनि छैन, भूगोलको कुनै पनि कुनामा छैन । यो सर्वत्र छ, तापनि शरीरमा कतै पाइन्न र देखिन्न ।

लेड्डीले भने,“आत्माको खोज गर्नु र सो सम्बन्धमा परीक्षण गर्नु राम्रो कुरा हो । तर तपाईहरुले कसरी कार्य सम्पादन गर्न सक्नुहुन्छ भन्नेबारे म कुही भन्न सक्दिनँ ।” उनले भनेअनुसार आत्माको खोजसम्बन्धी छलफलले उनलाई सोभियत अन्तरिक्षयात्रीको स्मरण गरायो, जसले अन्रिक्षबाट फर्किएपछि अन्तरिक्षमा ईश्वरलाई देख्न नसकेको र ईश्वर नभएको प्रतिवेदन सुनाएका थिए ।

डाक्टर बिगेलोले अगाडि भने अन्तरिक्षयात्रीले त त्यसो भने होलान् । तर, आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा जुन विषयको सामना गरिन्छ, त्यसको व्याख्या गर्न पनि नसक्ने अवस्था छ भने “ प्रश्नको उत्तर पाउन प्रयोगशालामा परीक्षण गर्न वा जहाँ पुगेर सत्य फेला पर्छ, त्यहाँ पुग्न” हामी अठोट गर्छौं ।

डाक्टर बिगेलोले भने, “मूलभूत प्रश्न छ, आत्मा कहाँ छ ? र यो कहाँबाट आउँछ ?”

श्रील प्रभुपाद वैदिक प्रमाण प्रस्तुत गर्नुहुन्छ
कृपया मेरो सादर अभिवादन स्वीकार्नुहोला । “गजेट” पत्रिकामा रेकोरेल्लीद्वारा प्रस्तुत लेखको शीर्षक “मुटु शल्य चिकित्सक आत्मा भनेको के हो ? भन्नेबारे जान्न चाहन्छ” मैले पढेँ । मलाई लेखको विवरण एकदम रोचक लाग्यो ।

आत्माको विषयमा तपाईले गर्नुभएको समीक्षामा गहिरो अन्तरदृष्टि भएको पाएँ । त्यसैले, तपाइलाई यस सन्दर्भमा एउटा पत्र लेख्न मन लाग्यो । म अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ इस्कोन नामक धार्मिक संस्थाको संस्थापक आचार्य हो भन्ने कुरा तपाईलाई थाहा होला नै । मोन्ट्रियल, टोरोन्टो, भ्यानकुभर र हैमिल्टनलगायत क्यानाडाका विभिन्न सहरहरुमा हाम्रा मन्दिरहरु रहेका छन् ।

हरेक जीवात्मालाई आफ्नो चिन्मयस्वरुपको बाध गराउनु यस कृष्णभावनामृत अभियानको उद्देश्य रहेको छ । हरेक प्राणीको हृदयमा आत्मा विद्यमान रहेको छ । र त्यो आत्मा नै शरीरलाई जीवन्तता दिने जीवनी शक्तिहरुको स्रोत हो ।आत्माको जीवनी शक्ति शरीरमा जताततै फैलिएको छ । यही जीवनी शक्तिलाई चेतना भनिन्छ ।

आत्माको चेतना शरीरमा सर्वत्र फैलिएको हुँदा शरीरको कुनै पनि भागमा दुःख र सुखको अनुभूति गरिन्छ । आत्मा व्यक्ति विशेष भएकाले यसको आफ्नै व्यक्तित्व हुन्छ । आत्माले बाल्यवस्थाबाट युवावस्था र युवावस्थाबाट वृद्धावस्था पार गरेजस्तै एउटा शरीरबाट अर्को शरीर बदल्दै देहान्तरण गरिरहन्छ ।

जब हालको शरीरलाई त्यागेर अर्को नयाँ शरीर धारण गर्नुपर्छ तब त्यस परिवर्तनलाई हामी मृत्यु भन्ने गर्छौं । पुरानो शरीरलाई त्यागेर नयाँ शरीर धारण गर्नु पुरानो बस्त्र फ्याकेर नयाँ बस्त्र धारण गर्नुजस्तै हो । यसरी, एउटा शरीर त्यागेर अर्कै शरीर धारण गर्ने प्रकृयालाई आत्माको देहान्तरण भनिन्छ ।

जब जीवात्मा अप्राकृत जगत् वैकुण्ठको आफ्नो घरलाई बिर्सेर यो संसारमा आउन चाहन्छ र संसारको भोगमा रमाउन चाहन्छ, तब उसलाई यस संसारमा देहान्तरणको कठिन संघर्ष स्वीकार्न लगाइन्छ ।

जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता सांसारिक कष्ट साथै देहान्तरणको सम्पूर्ण कुचक्रत्यतिखेरै अन्त्य हुन्छन्, जब जीवात्माको चेतना परात्माको चेतनासँग समन्वित हुन्छ, अर्थात् जीवात्मा परमात्माको इच्छानुसार चल्न थाल्छ । यही नै हाम्रो कृष्णभावनामृत अभियानको आधारभूत मान्यता हो ।

मुटुको प्रत्यारोपण गर्न खोज्दा मुटुमा आत्मा नहुने हो भने प्रत्यारोपण क्रिया सफल हुन सक्दैन । तसर्थ, हामीले आत्माको अस्तित्वलाई स्वीकार्नै पर्छ । यौन सम्पर्क गर्दा योनिभित्र प्रवेश गरेको वीर्यमा आत्मा नहुने हो भने गर्भधारण हुन्न वा महिला गर्भवती हुन सक्दिनन् । गर्भनिरोधक साधनको प्रयोग गर्नाले गर्भ नष्टभ्रष्ट हुन्छ र त्यस्तो गर्भमा आत्मा बन्न सक्दैन ।

त्यसो गर्नु भगवानको इच्छाविरुद्ध कार्य हो । भगवानको आज्ञाअनुसार कुनै आत्मालाई कसैको गर्भमा पठाइनछ, तर गर्भनिरोधक साधनको प्रयोगले आत्माले त्यस गर्भमा बस्न पाउँदैन । त्यसलाई उत्तिनैखेर अरुका गर्भमा बस्ने व्यवस्था गरिदिनुपर्छ । त्यसो गर्नु भगवानको आज्ञा ठाडै उल्लङ्घन गर्नु हो ।

उदाहरणार्थ कुनै मानिस कसैको घरमा डेरा लिएर बसेको छ । उसलाई डेरामा प्रवेश गर्नै दिइएन भने उसको बिजोग हुन्छ । उसले डेरामा बस्न नपाउनु गैरकानुनी हस्तक्षेप हो । त्यस्तो अपराध गर्नेले दण्डसजाय भोग्नुपर्दछ ।

“आत्माको खोज” कार्य सुरु गरे विज्ञानले पक्कै पनि ठूलो फड्को मार्नेछ । तर, विज्ञानले त्यसरी फड्को मार्न खोजे पनि आत्मालाई फेला पार्न सक्ने छैन । आत्माको उपस्थितिलाई लक्षणात्मक ज्ञानको आधारमा मात्र स्वीकार्न सकिन्छ । आत्माको आकार एउटा सानो थोप्लोको दश हजार भागमध्ये एक भाग बराबर सूक्ष्म हुने कुरा शास्त्रमा बताइएको छ ।

भौतिक वैज्ञानिकहरुले एउटा सानो थोप्लेको लम्बाई र चौडाई मापन गर्न सक्दैनन् । त्यसैले वैज्ञानिकहरुले आत्मालाई फेला पार्न पनि सक्दैनन् । अनुसन्धान कार्यमा समय खेर फाल्नुभन्दा आप्त पुरुषहरुको वाक्य सुनेर नै तपाईले आत्माको अस्तित्व स्वीकार्न सक्नुहुन्छ । ठूलाठूला वैज्ञानिकहरुले अनुसन्धानद्वारा पत्ता लगाएका सबै कुरा वेदले धेरै अगाडि बताइसकेको थियो ।

आत्माको बोध गरिएपछि परमात्मालाई पनि उत्तिनै खेर बोध गर्न सकिन्छ । परमात्मा विभू हो भने जीवात्मा अणु हुन् । आत्मा र परमात्माबीच त्यति फरक छ । परमात्मा र आत्माबीच परिमाणमा फरक भए पनि गुणमा फरक छैन । ईश्वर सर्वव्यापी वा सर्वदेशीय छन् भने जीव एकदेशीय छ । तर पनि दुबैका स्वभाव र गुण समान छन् ।

तपाईको मूलभूत प्रश्न भनेकै “आत्मा कहाँ छ र त्यो कहाँबाट आउँछ ?” भन्ने बुझियो । त्यति कुरा बुझ्न कही गाह्रो छैन । हामीले यसअघि बतायौँ, आत्मा प्राणीमात्रको हृदयमा बसेको छ र शरीरको मृत्यु भएपछि त्यो फेरी अर्कै शरीरमा प्रवेश गर्छ । आत्मा मूलतः भगवान वा भागवद्धामबाट आएको हो ।

हामीले देखेका छौँ, आगोको झिल्को आगोबाट आउँदछ । त्यो झिल्को अगेनाबाट उछिटिएपछि अन्यत्र खस्छ र निभेको जस्तो देखिन्छ । त्यसैगरी, आत्मारुपी झिल्को पनि मूलतः वैकुण्ठ जगत्बाट यस भौतिक जगत्मा आउँदछ । भौतिक जगत्मा खस्न आइपुगेपछि आत्माले तीन प्रकारका अवस्थाहरु स्वीकार्नुपर्दछ । ती अवस्थालाई प्राकृतिक गुण भन्दछन् ।

अगेनाबाट आगोको झिल्को सुख्खा झ्यासमा खसेको छ भने त्यो झिल्कोले आफ्नो गुणधर्मलाई निरन्तरता दिन सक्छ । त्यही झिल्को जमिनमा खस्यो भने त्यसलाई आगोको रुपमा रहन गाह्रो हुन्छ । फेरी त्यही झिल्को पानीमा खस्यो भने त्यो तुरुन्तै निभ्छ । आगोको झिल्काले यी तीन अवस्था बेहोर्नुपरेजस्तै जीवात्माले तीन अवस्थालाई स्वीकार्नुपर्दछ ।

कुनै जीवात्माले आफ्नो चिन्मय स्वरुपलाई पूर्णरुपमा बिर्सिएको हुन्छ, कुनै जीवात्माले आफ्नो स्वरुपलाई प्राय: बिर्सिसकेको हुन्छ, यद्यपि उसलाई स्वरुपबोध गर्ने थोरै चासो हुन्छ । कुनै जीवात्माले आफ्नो स्वरुपलाई कहिल्यै बिर्सिएको हुन्न र उसले स्वरुपसिद्धि खोजिरहेको हुन्छ । साध्यप्राप्तिका लागि जीवात्माले निर्धारित साधन अनुसरण गर्नुपर्दछ । त्यस्तो साधन मार्गमा उसलाई समुचित मार्गदर्शन मिल्यो भने ऊ सजिलै अप्राकृत जगत् वैकुण्ठ फर्किन सक्छ, जहाँबाट ऊ पहिले आएको थियो ।

वैदिक वाङ्मयका यी अमृत सन्देशहरुलाई वैज्ञानिक ढङ्गले प्रस्तुत गर्न सके मानव समाजमा ठूलो योगदान पुग्नेछ । शाश्वत सत्य यथावत् छदैछ । यसलाई अहिलेका मानिसहरुले बुझ्न सक्ने गरी प्रस्तुत गर्नु मात्र बाँकी रहेको छ ।
तपाईको शुभ चिन्तक (ए.सी भक्तिवेदान्त स्वामी ) आत्मविज्ञान

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.