वीरगञ्ज , फागुन १४ : राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आतंकवाद विरुद्ध भारतलाई साथ दिने भन्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् । ‘आतंकवाद विरूद्धको लडाइँमा भारत हामी तिम्रो साथमा छौं’ भन्ने ब्यानरसहित राजपा नेपालका भ्रात संगठन राष्ट्रिय युवा संघ र राष्ट्रिय विधार्थी संघले मोटरसाइकल र्याली निकालेको हो।

मोटरसाइकल र्यालीपछि आयोजित कोणसभामा राजपा नेपालका महासचिव राजेशमान सिंहले सम्बोधन गरेका थिए। शान्तिपूर्ण मोटरसाइकल र्यालीमा राजपा नेपालका महासचिव राजेश मान सिंह , जिल्ला अध्यक्ष प्रेम बाबू पटेल , जिल्ला सचिव उमेश लाल सहनी , केन्द्रीय सदस्य मिनु ठाकुर, बरकतुल नेसा , परमानन्द चौधरी , डा.कमरूल अंसारी महिला नेतृ राधिका देवी , संगीता दासलगायतका नेताहरू उपस्थित रहेका थिए ।

फेब्रुअरी १४ तारिखका दिन पुलवा जिल्लामा आत्मघाती बम आक्रमण हुँदा ४० भारतीय अर्धसैनिक बलको मृत्यु भएको थियो। सो आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय रहेको समूह जैस ए मोहम्मद समूहले लिएको थियो।
भारतले पाकिस्तानलाई उक्त आक्रमणको जिम्मेवार ठहराएको थियो। तर पाकिस्तानले भारतको उक्त भनाइको खण्डन गरेको थियो। पुलवा घटना विरुद्ध भारतले मंगलबार बिहानै पाकिस्तान प्रशासित काश्मिरमा हवाई हमला गरेको छ।
