आठ महिनापछि छाङरुमा फोन सेवा सुचारु

रिपोर्ट नेपाल | 2021 Aug 04 | 03:40 pm 1397

दार्चुला, साउन २०ः त्रिदेशीय सीमाक्षेत्र व्यास गाउँपालिका–१ छाङरुमा आठ महिनापछि सञ्चार सेवा सुचारु भएको छ । गत पुस महिनादेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको स्काई टावर आठ महिनापछि सुचारु भएको हो ।

हिउँदमा हिमपातका कारण क्षतिग्रस्त भएको टावर साउन दोस्रो साता नेपाल टेलिकम दार्चुलाका प्रमुख लगायतको प्राविधिक टोलिले मर्मत गरेपछि सञ्चालनमा आएको व्यासको वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

सौँका समुदाय खलङ्गा झरेका बेला हिउँदमा हिमपातका कारण छाङरुको स्काई टावर क्षतिग्रस्त भएकाले उक्त क्षेत्र सञ्चारविहीन बनेको थियो । आधा वर्षभन्दा बढी समयसम्म अवरुद्ध रहेको छाङरुको टेलिकम टावर साउन १२ गते मर्मत गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए । घाम नलागेका कारणले मर्मत भएको दुई दिनपछि टावर सञ्चालनमा आएको उनले बताए ।

दार्चुला सदरमुकाम खलङ्गाबाट छाङरु पुगेर टावर मर्मत गर्न र फिर्ता हुन १३ दिने लागेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताए। ढिलै भए पनि फोनमा कुरा गर्न पाउदा खुसी लागेको छाङरुका स्थानीय सीता बोहराले बताए ।

छाङरुमा फोन सेवा सूचारु भएपनि उक्त टावरले तिङ्कर गाउँमा काम नगर्ने हुदाँ तिङ्करवासी अझै पनि फोन सेवाबाट वञ्चित छन् । तिङ्करका बासिन्दालाई समेत सञ्चार (फोन) सेवा दिनका लागि टावर निर्माण गर्न सर्बे गरिएको वडाध्यक्ष बोहराको भनाइ छ । तिङ्करमा सञ्चार पहुँच पुर्याउन पहल भइरहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.