तनहुँ, भदौ २०ः तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् ।
बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भनिन्, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।”
मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन् । उनले कसैले ३५/४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन्।
कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसिन् । दिनभर लाइनमा बस्दा पनि उनले मल पाइनन् । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भनिन्, “भोलि पनि आएर पाउने निश्चित छैन ।”
केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भनिन्, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।”
उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उनले प्रश्न गरिन् । कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताइन् । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । नेपाल समाचारपत्रबाट