काठमाडौं, बैशाख २४ः पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक लगाएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई गुमराहमा राखी विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको निष्कर्ष निकाल्दै दुई पब्लिकेसनका ती पाठ्यसामग्रीलाई दुई वर्षसम्म रोक लगाएको हो ।
केन्द्रको मान्यता, समकक्षता तथा मूल्याङ्कन शाखाका अधिकृत तारा पाण्डेद्वारा हस्ताक्षरित पत्रमा ती पाठ्यसामग्री प्रयोग नगर्न नगराउन र बिक्रीवितरण नगर्न आग्रह गरेको छ । आठराई पब्लिकेसनको कक्षा ५ को रसिलो नेपाली रहेको छ । त्यस्तै, ओयसिस पब्लिकेसनको कक्षा ६, ७, ४ र ५ को वन्डर इङ्लिस, कक्षा ६, ७ र ४ को इङ्लिस स्किल पाठ्यसामग्री रद्ध गरिएको छ ।
ओयसिसले कक्षा ५ को वन्डर इङ्लिस पाठ्यसामग्री स्वीकृति नलिई छपाइ गरी बिक्री गरेको खुलेको छ । स्रोतका अनुसार ओयसिस र आठराई सहप्रकाशन संस्था हुन् । केन्द्रले कक्षा ६ को वन्डर इङ्लिस र इङ्लिस स्किललाई २०७८ देखि ०८० सम्म रोक लगाएको छ । कक्षा ७ र ४ को वन्डर इङ्लिस र इङ्लिस स्किल पाठ्यसामग्रीलाई २०७९ देखि २०८१ सम्म बिक्रीवितरणमा रोक लगाएको छ ।
आठराईको कक्षा ५ को रसिलो नेपाली पुस्तक २०८२ सालसम्म रद्ध भएको छ । सो पाठ्यसामग्री गत वर्षको चैत ४ मा स्वीकृत लिएको थियो । ओयसिसले कक्षा ६ का दुई पुस्तक २०७८ असार ४ र बाँकी चैत १४ मा स्वीकृति लिएको थियो । केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले रद्ध गरेको वर्षसम्म पुस्तक बिक्री गरेको थाहा पाए स्वीकृतिलाई पूर्ण रूपमा रद्ध गरिने चेतावनी दिए।
केन्द्रले सार्वजनिक गरेको सूचनामा केन्द्रबाट दिइएको स्वीकृति पाठ्यक्रम पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ को दफा ३० उपदफा २ बमोजिम रद्ध गरी दुई वर्षसम्म स्वीकृत नदिने र उक्त पाठ्यसामग्री तत्काल फिर्ता गराउने गरी निर्णय गरिएको हो ।
केन्द्रका महानिर्देशक अर्यालले निर्णय कार्यान्वयन गर्न सबै निकायलाई जानकारी गराइएको बताए । केन्द्रले कारबाही गरेको पत्र मन्त्रालय र प्रकाशकलाई पठाएको छ । आठराईले कोर्स परिवर्तन भइसकेको कक्षा ५ को रसिलो नेपाली पुस्तकको कभर र विषयसूची नयाँ राखेर बाँकी पुरानै विषयवस्तु प्रयोग गरी बिक्री गरेको थियो ।
२०७९ चैत १४ मा स्वीकृति लिई सो स्वीकृतिपत्रसमेत समावेश गरी प्रथम संस्करण २०५७ र सातौं संस्करण (संशोधनसहित) राखेर पुरानो पाठ्यक्रमअनुसारको १८ पाठ भएको सोही कक्षाको पाठ्य सामग्री छपाइ गरी बिक्री गरेको देखिएको केन्द्रले उल्लेख गरेको छ ।
ओयसिस पब्लिकेसनले कक्षा ६ को अङ्ग्रेजी वन्डर इङ्लिस विषयमा दुवै सामग्री नयाँ लागु भएका पाठ्यक्रमअनुसार १८ पाठ भएको पेस गरी शैक्षिक सत्र २०७८ देखि २०८० का लागि ०७८ असार ४ मा केन्द्रबाट स्वीकृति पत्र लिई सो पत्र समावेश गरी पहिलो संस्करण २०७८ र दोस्रो संस्करण २०८० राखेर पुरानो पाठ्यक्रमअनुसार वन्डर इङ्लिस र १० पाठ भएको इङ्लिस स्किल पाठ्यसामग्री छपाइ गरी बिक्री गरेको देखिएको छ ।
सो पब्लिकेसनले सबै विषयमा यस्तै कर्तुत गरेपछि कारबाही गर्नुपरेको केन्द्रको भनाइ छ । दुई प्रकाशनले गल्ती काम गरेको विषयमा विभिन्न सञ्चारमाध्यममा सामाचार प्रकाशित भएपछि केन्द्रले आन्तरिक रूपमा सबै पुस्तक प्राप्त गरेको थियो । ‘कैफियत गरेको पुस्तक फेला पारेपछि हामीले स्पष्टीकरण सोधेका थियौं, चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरेका हौं’ –महानिर्देशक अर्यालले भने । नेपाल समाचारपत्रबाट