काठमाडौं, भदाै २३ः देशभर ५३ जिल्ला साक्षर घोषणा भइसक्दा काठमाडौं जिल्ला साक्षर हुन सकेको छैन । संघीय सरकार र सबैभन्दा पुरानो र सुविधा सम्पन्न, शिक्षित र प्रभुत्व वर्ग बस्ने काठमाडौं महानगरपालिकासहित १० नगरपालिका रहेको जिल्लाले साक्षर भएको घोषणा गर्न नसक्दा देशकै बेइज्जत हुन थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा मानव स्रोत केन्द्रले महानगरपालिका र अन्य नगरपालिकालाई पटकपटक आग्रह गर्दा पनि साक्षर जिल्ला घोषणा गर्न सकेका छैनन् ।
अहिले त झन् काठमाडौं महानगरपालिकालाई कोरोनाको कारण बहाना बनाउन सजिलो भएको छ । कामपाका शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले काठमाडौं कोभिड–१९ को कारण देखाउँदै जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको बताए ।
उनले भने– ‘साक्षरता कक्षा सञ्चालन भइरहेका थिए रोकिए, अब तथ्यांक विश्लेषण गरी चालू आर्थिक वर्षभित्र घोषणा गर्ने तयारीमा लागेका छौं ।
सरकारले साक्षर नेपाल वर्ष २०७६ असार मसान्तभित्र देशभरका ७० जिल्लालाई साक्षर घोषणा निर्णय गरेको थियो । चालू बजेट वक्तव्यमा सबै जिल्ला साक्षर घोषणा गर्ने उल्लेख भएको थियो ।
तथ्यांक हेर्दा अहिलेसम्म २४ जिल्ला साक्षर हुन सकेका छैनन् । तर दुई वर्षयता जम्मा ५ जिल्ला मात्र साक्षर घोषणा भएका छन् । विसं २०७५ मा ४८ जिल्ला साक्षर भएका थिए ।
सरकारले सञ्चालन गरेको महत्वकांक्षी अभियानमा करिब १० अर्ब रुपियाँ खर्च भइसककेको छ । तैपनि मुलुक पूर्णरुपमा साक्षर हुन सकेको छैन । हरेक वर्ष दुई वर्षभित्र निरक्षर सबैलाई साक्षर बनाउने घोषणा गरेको सरकारले २०७८ सालसम्म यो अभियान सञ्चालन गर्ने जनाएको छ । नेपाल समाचारपत्रबाट