आज राती देखि अमेरीकी चिठ्ठा इडिभी खुल्ने, कसरी भर्ने ?

| 2023 Oct 04 | 08:00 pm 1925

काठमाडौं, असोज १७ । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा  कार्यक्रमको लागि आज बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार आज अर्थात असोज १७ गते राति ९:४५ बजे देखि आवेदन दर्ता सुरु हुने अमेरिकी दूतावास काठमाडाैंले जनाएको छ ।

डि.भी. चिट्ठाको आवेदनका लागि लागि कुनै पनि शुल्क नलाग्ने पनि दुतावासले जनाएको छ । यो कार्यक्रम कार्तिक २१ मा नेपाली  समय अनुसार १०:४५ बजे बन्द हुनेछ ।

अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।

ईडिभी अनलाइन फारम कसरी भर्ने ?

सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले तोकिएको अवधिसम्म www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

आवेदन गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

एक आवेदनकर्ताले  एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि स्वत: अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।  फोटोको विषयमा वेवसाइटमा भएको निर्देशन बमोजिम गर्नु पर्नेछ ।

डिभी भरिसकेपछि कन्फर्मेसन नम्बर सेभ वा प्रिन्ट गरेर सुरक्षित राख्नुपर्नेछ । यो युनिक नम्बर नै पछि डिभि परे नपरेको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.