आज राति पश्‍चिममा ‘अति भारी वर्षा’को सम्भावना, सजगता अपनाउन आग्रह

| 2018 Aug 11 | 02:45 pm 1495

काठमाडौं, साउन २६: मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ।

मौसम विभागका अनुसार शनिबार राति पश्चिमका केही भागमा अति भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र मौसम बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार शनिबार दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शनिबार राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ। आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलले जानकारी दिइन्।

अति भारी वर्षा हुने भएकोले आसपासका खोला तथा नदीहरु बढेर बाढी, पहिरो तथा डुबान हुनसक्ने भएकोले सचेतना अपनाउन समेत आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.