काठमाडौं, बैशाख २३ः मुटु रोगले पीडित हुन पुगी डिल्लीबजार कारागारबाट उपचारार्थ ओम अस्पताल पुगेका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई कोरोनाले नराम्ररी गाँजेको कुरा उपचारमा संलग्न चिकित्सकको भनाई रहेको छ ।
उनका अनुसार पूर्व आयुक्त बस्नेतको फोक्सोमा निमोनिया हुन जाँदा सास फेर्न नै अप्ठेरो हुन गएकाले अक्सिजनको भरमा बचाइएको छ । साथै उनलाई कोरोनाबाट बचाउन रेडमिसिभर इन्जेक्सन चालु गरिएको भए पनि प्लाज्मा पद्धतिबाट थप उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।
मुटु रोग बल्झँदा यथा समयमै उपयुक्त उपचार हुनबाट बंचित गराई कारागारमै राखिएको परिणाम आज उनको जीवन क्रिटिकल अवस्थामा पुगेको कुरा पनि उपचारमा संलग्न चिकित्सकको भनाई रहेको छ ।
पूर्व आयुक्त बस्नेत आफै त जीवन मरणको अवस्थामा पुगेको छन् भने उनकी श्रीमतीलाई पनि कोरोनाका कारण रेडमिसिभर इन्जेक्सनकै भरमा र परिवारका अन्य सदस्य पनि कोरोनाबाट नै पीडित हुन पुगी उपचारार्थ रहेको कुरा बताइएको छ ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जना मध्ये उनी बाहेक सबै नै धरौटीमा छुटी सकेका र उनको निवेदनको आधारमा सर्वोच्चले विशेष अदालतबाट थुनामा राख्नुपर्ने कारण सहितको विवरण मगाई सकेकाले आज बैशाख २३ गतेका दिन सर्वोच्चमा सुनुवाई हुने बुझिएको छ ।
कोरोनाका कारण आफू लगायत परिवारकै जीउ ज्यान खतरामा पर्न गएको यस अवस्थामा सम्भवत आज मानवीय सम्वेदनशीलता र उनको दिन प्रतिदिन प्रतिकुल हुँदै गएको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै, आफू पनि बाँच्न र परिवारलाई पनि बचाउनकै लागि भए पनि अन्यायको पीडा भोगिरहेका व्यक्तिले न्याय पाउने सम्भावना रहेको कुरा बस्नेतको मुद्दामा संलग्न कानुन व्यवसायीहरुको भनाई रहेको छ ।