काठमाडौँ माघ ०९ : पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा सर्वोच्च अदालतले आइतबार देशभरका अदालत बन्द रहने निर्णय गरेको छ। शर्माको निधनप्रति सर्वोच्चले दुःख व्यक्त गर्दै देशभरका सम्पूर्ण अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।
पूर्व प्रधानन्यायाधीश शर्मा १९९१ साल पुस १ मा काठमाडौंको कमलपोखरीमा जन्मेका थिए उनि २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। शर्मा २०५४ साल चैतमा प्रधानन्यायाधीशमा नियुक्ति भई २०५६ मंसिर ३० सम्म कार्यभार सम्हालेका थिए। शर्माको निधन गत बुधबार भएको थियो।
शर्माका परिवार विदेशबाट आउन ढिलाइ भएको हुँदा शनिबार मात्रै उनको अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टि गरेपछि मात्रै सर्वोच्च अदालतमा आकस्मिक पूर्ण बैठक बसी शोक बिदा दिने निर्णय भएको हो।
‘पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ आइतबारका दिन सर्वोच्च अदालत, देशभरका उच्च,अदालत जिल्ला, विशेष एवं अन्य अदालत शोक बिदाको रूपमा बन्द रहने भनी अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको छ सर्वोच्चले जनाएको छ।