आज तमुल्होसार, राष्ट्रपतिद्वारा शुभकामना

रिपोर्ट नेपाल | 2019 Dec 31 | 07:30 am 1953

काठमाडौं, पुष १५: आज तुमल्होसार गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउँदैछन् ।

गुरुङ भाषा अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । अर्थात् यो उनीहरूको नयाँ वर्षका रूपमा मनाइने मौलिक पर्व हो ।

यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
गण्डकी प्रदेशमा गुरुङ समुदायको बढी बाहुल्यता रहेका कारण यस पर्वको अवसरमा
गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपतिद्वारा शुभकामना

गुरुङ समुदायको महान पर्व ‘तमूल्होसार’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएका छन् । उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

नेपालमा मनाइने विभिन्‍न चाडपर्वहरूले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताउँदै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संवर्द्धन गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

‘गुरुङ संस्कृति बहु‐भाषिक, बहु‐धार्मिक र बहु‐सांस्कृतिक राष्ट्रको रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय सांस्कृतिको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, तमूल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.